
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत साताको माल्दिभ्स भ्रमणलाई द्विपक्षीय सम्बन्धमा प्रतीकात्मक तर रणनीतिक पुनस्र्थापनाको रूपमा हेरिएको छ । चिनियाँ लगानी घट्दै गएको र माल्दिभ्सले बढ्दो आर्थिक दबाब सामना गरिरहेको समयमा नयाँदिल्लीको भ्रमणलाई महत्वका साथ हेरिएको छ । माल्दिभ्सको ६०औँ स्वतन्त्रता दिवस समारोह पारेर मोदीको दुईदिने माल्दिभ्स यात्रा भयो । भारतीय प्रधानमन्त्रीका रूपमा यो यात्रा सन् २०२३ को अन्त्यमा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ‘इन्डिया आउट’ नारामा चुनाव जितेपछिको पहिलो हो ।
दिल्लीस्थित ‘अब्जर्भर रिसर्च फाउन्डेसन’को रणनीतिक अध्ययन कार्यक्रमका एसोसिएट फेलो आदित्य गौदरा शिवमूर्तिले मोदीको पछिल्लो माल्दिभ्स भ्रमण सफल भएको बताए । यस भ्रमणबाट पुन: माल्दिभ्समा भारतीय प्रभावको कुनै प्रतिस्पर्धी नरहेको देखिएको र माल्दिभ्सले आर्थिक कठिनाइ भोगिरहेको समयमा भारत असली सहयोगीका रूपमा अघि आएको शिवमूर्तिले बताए । भारतको पछिल्लो सहयोगको प्रतिबद्धताले माल्दिभ्सको सहयोगमा भारतीय तत्परता, प्रतिबद्धता र चासोलाई जोड दियो । अन्य पक्षको हिचकिचाहट समयमा आएको सहयोगले भारतको विश्वसनीयता बढेको शिवमूर्तिले बताए ।
मोदीले भ्रमणको समयमा ५६.५ करोड अमेरिकी डलरको क्रेडिट लाइन घोषणा गरे । भारतले पहिलेको क्रेडिट लाइनको भुक्तानीलाई पनि वार्षिक ५.१ करोड अमेरिकी डलरबाट घटाएर २.९ करोड अमेरिकी डलरमा झार्ने घोषणा पनि गरेको छ । ‘जस्तोसुकै परिस्थितिमा हाम्रो मित्रता सधैँ उज्यालो र स्पष्ट रहनेछ । भारतले माल्दिभ्सको प्रतिरक्षा क्षमताको विकासलाई निरन्तर सहयोग दिनेछ,’ मोदीले राष्ट्रपति मुइज्जुसँगको संयुक्त पत्रकार सम्मेलनमा भने । मुइज्जुले त्यस अवसरमा दुई देशबिचको साझा विकास यात्राको सफलताबारे बोले । मोदीले भ्रमणका क्रममा भारत–माल्दिभ्सबिच स्वतन्त्र व्यापार वार्ता सुरु गर्ने जानकारी दिए । त्यस्तै भारतले माल्दिभ्सको रक्षा मन्त्रालयलाई ७२ वटा सवारीसाधन उपहार दिँदै छ ।
भारत–माल्दिभ्सको द्विपक्षीय सम्बन्धमा आएको सुधार सन् २०२३ को चुनावको समयमा राष्ट्रपति मुइज्जुको भारतविरोधी बयानबाजी देख्नेका लागि आश्चर्य पार्ने खालको छ । त्यति वेला मुइज्जु मात्रै होइन, माल्दिभ्सका अन्य अधिकारीले समेत मोदीलाई अपमानजनक टिप्पणी गरेको खबर आएका थिए । केहीले यसलाई ‘ग्लोबल साउथ’को भूराजनीतिक गतिशीलतामा आइरहेकै परिवर्तनको हिस्साका रूपमा व्याख्या गरिरहेका छन् । शिवमूर्तिका अनुसार माल्दिभ्सलाई विभिन्न कारणले भारतसँग टकरावको रणनीति त्यागेर सहयोगको रणनीति अपनाउन बाध्य बनाए । त्यसमा विशेष घरेलु राजनीति तथा आर्थिक चुनौती र चीनको न्यून चासो जिम्मेवार रहेको शिवमूर्तिको ठम्याइ छ । भारतको निरन्तर लचिलो नीतिले यो परिवर्तन निम्त्याएको उनले बताए । उनले भने, ‘मोदीको भ्रमणमार्फत भारतले अहिले यस सम्बन्धलाई थप सुदृढ बनायो ।’
वर्तमान राष्ट्रपति मुइज्जुलाई चीनप्रति बढी झुकाव भएको नेताका रूपमा व्याख्या गरिन्थ्यो । जनवरी २०२४ मा आफ्नो पहिलो राजकीय भ्रमणका क्रममा उनी बेइजिङ गएका थिए । भ्रमणमा उनले आफ्ना चिनियाँ समकक्षीसँग २० प्रमुख सम्झौतामा हस्ताक्षर गरे । त्यसको दुई महिनापछि, माल्दिभ्स र चीनले सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरे । चीनले आफ्नो महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ अन्तर्गत चीन–माल्दिभ्स मैत्री पुल र विमानस्थल स्तरोन्नतिसहितको १.४ अर्ब अमेरिकी डलर लगानी गर्यो ।
शवमूर्तिका अनुसार चीनले माल्दिभ्समा आफ्नो पकड गुमाएको त छैन, तर सो देशमा लगानी गर्न भने हिचकिचाएको देखिन्छ । ‘मुइज्जुप्रति विश्वासको कमी र आर्थिक अवस्थाले चीनलाई चुनौतीपूर्ण अवस्थामा पुर्याएको छ । श्रीलंका संकटपछि चीन केही हच्किएको देखिन्छ । त्यसैले चीनले अनुदान मार्फत साना परियोजनामा मात्र लगानी गरिरहेको छ । ठुला पूर्वाधार परियोजना र ऋणमा उसको त्यत्ति चासो देखिँदैन,’ शिवमूर्तिले भने ।
भारतको आर्थिक संकट र कूटनीतिक पहुँचले पनि माल्दिभ्सको अडानलाई पुन: आकार दिएको विज्ञहरू विश्वास गर्छन् । वासिंटनस्थित ‘इस्ट–वेस्ट सेन्टर’की सहायक फेलो निलान्थी समरनायकेका अनुसार माल्दिभ्स र भारतका वरिष्ठ अधिकारी दुवै देशको सर्वोच्च हितलाई सन्तुष्ट पार्ने सम्झौतामा पुग्न सफल भएका छन् । ‘माल्दिभ्सले विदेशी सेनालाई आफ्नो भूमिबाट बाहिर निकाल्न चाहेको थियो । भारतले निरन्तर समुद्री निगरानी चाहेको थियो । अहिले भारतीय नागरिकद्वारा विमान सञ्चालन गर्ने प्रवधान तय गरेर दुवै पक्षलाई स्वीकार्य बाटो अपनाइएको छ,’ समरनायकेले भनिन् ।
गत वर्ष मुइज्जुलाई मोदीको शपथग्रहण समारोहमा आमन्त्रित गरिएदेखि नै दुई देशको सम्बन्धमा सुधार देखिएको समरनायकेले बताइन् । ‘मुइज्जुले अक्टोबरमा भारतको राजकीय भ्रमण पनि गरे । अहिले मोदीको राजकीय भ्रमणले सुधारिएको द्विपक्षीय सम्बन्ध थप बलियो बनाएको छ,’ समरनायकेले भनिन् ।
आफ्नो भ्रमणका क्रममा मोदीले भारतको सहयोग रहेका कैयौँ पूर्वाधार परियोजनाको उद्घाटन पनि गरे । तिनमा रक्षा मन्त्रालयको नयाँ मुख्यालयदेखि केही नयाँ सडक र चार हजार आवास योजना समावेश थिए । मोदीको भ्रमणको समयमा भारतको ‘इन्टरनेसनल पेमेन्ट लिमिटेड’ र माल्दिभ्सको मौद्रिक प्राधिकरणबिच सो राष्ट्रमा एकीकृत भुक्तानी इन्टरफेस’ स्थापनाको सम्झौतासमेत भयो ।
समरनायकेको विचारमा मुइज्जुले पदभार ग्रहण गरेदेखि नै भारतसँग सहयोग बढाउने आफ्नो मनसाय व्यक्त गरेका थिए । तर, माल्दिभ्सलाई एउटा देशमाथि मात्र निर्भर नगरी धेरै साझेदारसँग अघि बढ्न खोज्ने उनको विदेश नीतिलाई भारतविरोधी भनेर ‘गलत अर्थ’ लगाइयो । तर, खासमा मुइज्जुले आफ्ना पूर्ववर्ती सरकारको भारतमाथि मात्र निर्भर रहने प्रवृत्ति त्यागेर अन्य साना दक्षिण एसियाली देशहरूले जस्तै चीनसहित विभिन्न साझेदारसँग संलग्न हुने प्रयास गरेको समरनायके बताउँछिन् ।
अन्तर्राष्ट्रिय सम्बन्धकी प्राज्ञ डा. विनिथा रेवीका अनुसार राष्ट्रपति मुइज्जुले सन् २०२४ को सुरुवातदेखि नै द्विपक्षीय सम्बन्धमा पुनस्र्थापनाको संकेत दिइरहेका थिए । त्यति वेलादेखि उनले भारतलाई ‘माल्दिभ्सको सबैभन्दा घनिष्ठ सहयोगी’ बताउन थालेका थिए । ‘भारत–माल्दिभ्स पुनस्र्थापना गर्न केही समयदेखि भित्रभित्रै काम भइरहेको थियो । यसमा उच्चस्तरीय कोर समूहको बैठक, संयुक्त ‘दोस्ती’ अभ्यास, भारतको बजेटरी समर्थन र विदेशमन्त्री मुसा जमिरको मे २०२४ को दिल्ली भ्रमणजस्ता आधिकारिक भ्रमणले विशेषक काम गर्यो,’ रेवीले भनिन् ।
यस वर्षको सुरुमा भारतले आफ्नो बजेटमा माल्दिभ्सलाई ६ अर्ब भारु (करिब ६.९० करोड डलर) छुट्याएको थियो । यो रकम गत वर्षको ४.७ अर्ब रुपैयाँ थियो । यो भारतले दक्षिण एसियाली देशलाई छुट्याइएको बजेटमा सबैभन्दा ठुलो वृद्धि थियो । भारत–मादिल्भबिच आर्थिक वर्ष ०२२–२३ मा लगभग ९७ करोड ३३.७ लाख अमेरिकी डलर द्विपक्षीय व्यापार भएको थियो । यो २०२३–२४ मा ९७ करोड ८५.३ लाख अमेरिकी डलर पुगेको छ । भारत–माल्दिभ्स सम्बन्धलाई चीनसँग तुलना गरेर हेर्नुको सट्टा फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने रेवी बताउँछिन् ।
‘माल्दिभ्सले भारत र चीनबिचको सम्बन्धलाई सन्तुलनमा राख्ने प्रयासलाई निरन्तरता दिनेछ । तर, यस टापु राष्ट्रसँग गहिरो सम्बन्ध खोज्ने अन्य प्रमुख खेलाडी सक्रिय रूपमा रहेको बिर्सिनुहँुदैन,’ रेवीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोको सन्देशतर्फ संकेत गर्दै भनिन् । रुबियोले केही समयअघि वासिंटन ‘आगामी दिनमा माल्दिभ्ससँग सहयोगलाई गहिरो बनाउन’ इच्छुक रहेको बताएका थिए ।
रणनीतिक रूपमा भारतले तीन प्रमुख कारकलाई ध्यानमा राख्दै आफ्ना संवेदनशीलतामा ध्यान दिनुपर्ने रेवीको विश्लेषण छन् । ती तीन कारकमा माल्दिभ्सले चीन र अमेरिकासँग रक्षा सहयोगलाई कसरी सन्तुलन गर्नेछ भन्ने पहिलो कारक हुनेछ । त्यस्तै समीकरणमा टर्कीको भूमिका के हुनेछ भन्नेमा पनि भारतको ध्यान हुनेछ । तेस्रो कारकमा बृहत् हिन्द महासागर क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न भारत, माल्दिभ्स र श्रीलंकाबिचको सहकार्यलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषय हुनेछ । ‘विकासको मोर्चामा भने भारतले ऋण मिनाहा, युवा बेरोजगारी, जलवायु परिवर्तन र क्षमता विकासजस्ता क्षेत्रमा संलग्नता जारी राख्नुपर्नेछ,’ रेवीले भनिन् ।
काथ्जु भारतमा रहेर विभिन्न अन्तर्राष्ट्रिय मिडियाका लागि स्वतन्त्र पत्रकारिता गर्छन् । (साउथ चाइना मर्निङ पोस्टबाट)