
भारतीय चर्चित ब्याटर तथा पूर्वकप्तान विराट कोहलीले पाँच महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारी सुरु गरेका छन् । ३७ वर्षीय कोहली लन्डनमा गुजरात टाइटन्सका सहायक प्रशिक्षक नइम अमिनको नेतृत्वमा प्रशिक्षण गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोहलीले अक्टोबरमा अस्ट्रेलियाविरुद्धको तीन एकदिवसीय सिरिज खेल्नेछन् । ३६ वर्षीय भारतीय ब्याटरले पनि सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा आफ्नो अभ्यासको तस्बिर पोस्ट गरेका छन् । जुन फोटोमा कोहली नइम अमिनसँग देखिएका छन् । नइमले पनि कोहलीको ब्याट समातेका छन् । विराटले लेखेका छन्, ‘तयारीमा सहयोग गरेकोमा धन्यवाद दाजु । तपाईंलाई देख्न पाउँदा सधैँ खुसी लाग्छ ।’
कोहलीले ९ मार्च २०२५ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । अन्तिमपटक च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका हुन् । सो खेलमा भारतीय टोलीले खेल चार विकेटले जितेको थियो । भारतले १९ देखि २५ अक्टोबरसम्म अस्ट्रेलियासँग पाँचवटा टी–२० खेल पनि खेल्नेछ । तर, यो खेलमा कोहली देखिनेछैनन् ।
कोहलीले भारतका लागि टेस्टमा १२३ खेल खेल्दा नौ हजार २३० रन बनाएका छन् । जसमा ३० शतक छ भने ३१ अर्धशतक छन् । उनको सबैभन्दा धेरै २५४ रन बनाएका थिए । यता, टी–२० तर्फ कोहलीले १२५ खेलमा ४ हजार १८८ रन बनाएका थिए । जसमा एक शतक बनाउँदा ३८ अर्धशतक छ । उनको स्ट्राइक रेट १३७.०४ रहेको छ ।