मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार १o:o८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुदूरपश्चिम सरकारले घोषणाको डेढ वर्षमा पनि गर्न सकेन लगानी सम्मेलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार १o:o८:oo
  • प्रदेशको आर्थिक र सामाजिक रूपान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलनको तयारी नपुगेको भन्दै तेस्रोपटक मिति सारियो, अब मंसिरमा गर्ने घोषणा 

लगानी सम्मेलन सरेको सर्‍यै

  • पहिलो मिति : २३–२४ फागुन ०८०
  • दोस्रो मिति : २१–२२ असोज ०८१
  • तेस्रो मिति : आगामी १–२ असोज
  • चौथो मिति : आगामी १–२ मंसिर

सुदूरपश्चिममा लगानी सम्मेलन आयोजनाको मिति तेस्रोपटक पनि सारिएको छ । प्रदेशको आर्थिक र सामाजिक रूपान्तरण गर्ने उद्देश्यले गर्ने भनिएको लगानी सम्मेलन डेढ वर्षसम्म पनि आयोजना हुन सकेको छैन । प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी १ र २ मंसिरमा लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आगामी १ र २ असोजका लागि तोकिएको सम्मेलन तयारी नपुगेका कारण मंसिरमा सारिएको कार्यालयको भनाइ छ । असोजमै सम्मेलन गर्न गत जेठमा तयारी सम्मेलनसमेत भइसकेको छ । त्यतिखेर संघ तथा प्रदेशका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, दातृ निकाय, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागितामा धनगढीमा पूर्वतयारी सम्मेलन भएको थियो । उक्त कार्यक्रमपछि असोजमै लगानी सम्मेलन हुने अपेक्षा गरिएको थियो, तर मुख्यमन्त्री कमलबहादुर शाहको मन्त्रिपरिषद्ले चौथो मिति तोक्ने निर्णय लिएको हो ।

सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले लगानी सम्मेलनका लागि सो–केशमा राखिने परियोजनाको तयारी तथा छनौंटको अन्तिम टुंगो लाग्न नसक्दा सम्मेलन सार्नु परेको बताए । ‘लगानी सम्मेलनका लागि सोकेसमा राख्ने योजनाहरू छनोटमा समय लाग्यो, अलि तयारी पुगेन, पछिल्लोपटक गर्ने भनिएको समयमा प्र्रधानमन्त्रीको भारत भ्रमण हुने कुरा आयो, त्यही कारण सारियो,’ उनले भने, ‘अबचाहिँ तोकिएकै समयमा हुन्छ, विभिन्न समिति र उपसमिति बनाएर काम भइरहेको छ, मंसिरमा लगानी सम्मेलन हुन्छ ।’

घोषणाको डेढ दशकमा पनि सुदूरपश्चिम सरकारले लगानी सम्मेलन गर्न सकेन । तर, यहीबिचमा कोशी प्रदेशले भने लगानी सम्मेलन आयोजना गरेर लगानी सम्झौतासमेत गर्न सक्यो । विराटनगरमा १८ र १९ वैशाखमा सम्पन्न कोशी प्रदेशको पहिलो लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ लागतका ४६ परियोजनामा लगानी सम्झौता भएको छ । सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटीलगायत आठ क्षेत्रका एक खर्ब ७३ अर्ब ४९ करोड लागतका ७१ वटा परियोजना सोकेस गरिएको थियो । त्यसमध्ये ४६ परियोजना लगानीकर्ताको छनोटमा परेको थियो । सम्झौता भएका सबै ४६ परियोजना निजी क्षेत्रका हुन् । सरकारको तर्फबाट सोकेसमा राखिएका आयोजनामा भने लगानी जुटेन ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री लक्ष्मी विकले लगानी सम्मेलन सारेको सार्‍यै अल्झाउने तथा खर्च बढाउने काम मात्रै गरिरहेको आरोप लगाइन् । ‘लगानी सम्मेलनको मिति सारेर सरकारले अल्झाउने काम मात्रै गरिरहेको छ, प्रतिपक्ष र सरोकारवालासँग पर्याप्त सल्लाह र समन्वय गरेको छैन,’ उनले भनिन्, ‘सुदूरपश्चिम लगानी सम्मेलन देखाउन मात्रै नगरियोस्, यहाँका सम्भावनाका क्षेत्र पहिचान गरी लगानी भित्र्याउनुपर्छ ।’

तयारीमै बित्यो डेढ वर्ष
सुदूरपश्चिममा लगानी र लगानीकर्ता भित्र्याउने उद्देश्यले २३–२४ फागुन ०८० मै लगानी सम्मेलन गर्ने प्रदेशको निर्णय थियो । तर, पटक–पटक सत्ता हेरफेरले लगानी सम्मेलन ओझेलमा पर्दै आएको छ । सुरु मितिमा सम्मेलन नभएपछि २१–२२ असोज ०८१ मा सारिएको थियो । उक्त मितिमा पनि सम्मेलन हुन नसकेपछि एक वर्ष धकेलेर आगामी १ र २ असोजमा सम्मेलन गर्ने निर्णय भएको थियो । बारम्बार मिति सर्दा प्रदेश मन्त्रिपरिषद्ले तयारी नपुगेको कारण देखाउने गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गरी प्रदेशको आर्थिक र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने उद्देश्यले लगानी सम्मेलन गर्ने तयारी रहेको बताए । लगानी सम्मेलन लक्षित गरी नयाँ कानुन निर्माण एवं मौजुदा कानुनको संशोधनको तयारी भइरहेको उनले बताए ।  परियोजना पहिचान गर्ने र सम्मेलनको प्रचारप्रसारका काम भइरहेका कारण पनि नयाँ मिति तोक्नुपरेको मुख्यमन्त्री शाहले जानकारी दिए ।

एसियाली विकास बैंक (एडिबी)ले सुदूरपश्चिम प्रदेशको एकीकृत आर्थिक तथा पर्यटन विकास सम्बन्धमा अध्ययन गरी प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । प्रतिवेदनमा उल्लिखित पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययनसमेत गरिएको सुदूरपश्चिमको विकासका लागि महŒवपूर्ण पाँचवटा परियोजनालाई प्रदेशको लगानी सम्मेलनमा प्रस्तुत गर्ने गृहकार्य भइरहेको छ । एडिबीले सम्मेलनमा लागत साझेदारी तथा अन्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको मुख्यमन्त्री शाहले बताए ।