
भारतको उत्तराखण्डमा गत २० साउनको बाढीपहिरोले तीनजना सदस्य बेपत्ता बनाएपछि बर्दिया मधुवन नगरपालिका– ६ सानोश्रीका नरेन्द्र खड्काको परिवार शोकमा छ । पहिरोले ४० वर्षीय खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती भट्टराई खड्का र दुई वर्षीया छोरा रोमन खड्का बेपत्ता छन् ।
पहिरोले छोराबुहारी र नातिलाई बगाएपछि आमा लीलसरा खड्का शोकमा छिन् । बुबा चूडामणि खड्का बेपत्ता छोराको अवस्था बुझ्न गढवाल गएका छन् । घरमा चिन्ताको विषय भनेकै बेपत्ता भएको छोराको परिवारको भएको नरेन्द्रका कान्छोबुबा युद्ध खड्काले बताए । ‘मंगलबार बिहान ७:५५ मिनेटमा आमासँग कुरा भएको थियो । त्यसको केहीबेरमा पहिरोले बगाएको खबर आयो । बुधबार नै दाइ र ज्वाइँ नरेन्द्रको बारेमा बुझ्न जानुभएको छ । आज मात्रै नरेन्द्रको हात फेला परेछ । सायद एक दुई दिनमा दाइ आएपछि के गर्ने भन्ने सल्लाह गर्छौँ,’ उनले भने ।
युद्धका अनुसार नरेन्द्र कोभिडअघि माल्दिभ्स गएका थिए, तर राम्रो काम नपाएर डेढ वर्षमै फर्किए । त्यहीवेला कमाएको पैसाले उनले तीन कोठाको घर बनाउन जग हालेका थिए । भारतमा ज्याला–मजदुरी गरेर कमाएको पैसाले झ्याल र पर्खाल बनायो । घरको ढलान गर्ने वेला भएको थियो । ‘अस्ति घर आएका वेला अंकल अब चाँडै घर ढलान गरेर यतै बस्छु । छोरालाई यतै पढाउँछु । सानोतिनो व्यापार–व्यवसाय भए पनि गर्छु भन्दै थियो, नरेन्द्रलाई पहिरोले पुरिदियो । यससँगै उसको सपना पनि पुरियो,’ उनले भने ।
आँगनको छेउमा नरेन्द्रले कमाएर बनाएको ढलान नभएको तीन कोठाको घर छ । त्यसको छेउमा घर आएको वेला नरेन्द्रको परिवार बस्ने माटोको पर्खाल र टायलले छाएको सानो घर छ । मधुवन नगरपालिका– ५ की बेपत्ता अमृताको परिवारको घर पनि शोकमा छ । घरमा अहिले छोरी र बुहारी छिन् । अमृताका श्रीमान् पहिरोमा पुरिएर घाइते भएकी छोरीको उपचार गराइरहेको छ भने फुर्सद हुनेबित्तिकै श्रीमतीको अवस्था बुझ्न घटनास्थल जान्छन् । आमा बेपत्ता भएको खबर सुनेर माइत आएकी पूजा परियार भन्छिन्, ‘बेपत्ता आमाको शव देख्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । आमा, बुबा, बहिनीज्वाइँ र काका सबैजना कमाउन गएका थिए । मंगलबार आएको पहिरोमा परेर आमा बेपत्ता हुनुभयो । बहिनी घाइते । बहिनीको खुट्टामा चोट लागेकाले अपरेसन गर्ने कुरा भएको छ । के गरौँ, कसो गरौँ भएको छ ।
पहिरो गएको ठाउँमा भाइबुहारी साथमा काम गर्न गएकी मधुवन नगरपालिका– ५ की डल्ली परियार २५ असारमा घर फर्किएकी थिइन् । ‘बाटो बनाउने काममा गएका थियौँ । त्यहाँ माटो र ढुंगा बोक्ने काम गर्ने गथ्र्यौँ । महिलालाई दैनिक तीन सय रुपैयाँ र पुरुषलाई चार सय रुपैयाँ दिन्थे । मिस्त्रीको काम गर्न जानेकालाई पाँच सय दिन्थे । कमाएको पैसाले ज्यान पाल्न त पुग्थ्यो । घर पठाउन पुग्दैन्थ्यो,’ उनले भनिन् ।
१३ नेपालीको सकुशल उद्धार
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएकामा वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह, दिनेश, गंगा, सूर्य शाही, प्रवीण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही छन् ।