Skip This
भ्यानवाला रोशनको अर्ग्यानिक अभियान : गाउँदेखि हाटबजारसम्म बिक्री, प्रचारप्रसारमा पनि सक्रिय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २३ शुक्रबार ११:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्यानवाला रोशनको अर्ग्यानिक अभियान : गाउँदेखि हाटबजारसम्म बिक्री, प्रचारप्रसारमा पनि सक्रिय

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार ११:३४:oo

‘लौ आयो हजुर ! फापरको पिठो, फिलुङ्गे र आलसको धुलो, वनसिलाम !’
‘लौ हजुर ! सस्तोमा आफ्नै नेपाली अर्ग्यानिक  उत्पादन खानुहोस्, सधैँ स्वस्थ रहनुहोस् ! ’

विराटनगर– ५ पृथ्वीचोकका युवा रोशन पोखरेल हरेक दिन घर–घर र हाटबजारमा पुगेर आफ्नै मोबाइल जिपमा अर्ग्यानिक रैथाने उत्पादनहरू बिक्री गर्दै माइकबाट यस्तै आवाज घन्काउँछन्। दिनभरि विराटनगर महानगरका सबै वडाहरूमा र साप्ताहिक हटिया लाग्ने टोलटोलमा पुग्ने उनले लगभग ५० प्रकारका अन्न, तरकारी, मसला र अचार बिक्री गर्छन् । 

युवा उद्यमी रोशन केवल व्यापारी मात्र होइनन्, स्वदेशी अर्ग्यानिक  उत्पादनको अभियानकर्ता पनि हुन्।  आफ्नो निजी मालवाहक जिपमै माइक घन्काउँदै पर्चा बाँडेर स्वदेशी उत्पादनप्रति जनचेतना पनि फैलाउँछन्। १० वर्षदेखि यस व्यवसायमा संलग्न रोशनले झापा, मोरङ र सुनसरीका गाउँ–सहरमा पुगेर रैथाने अर्ग्यानिक  उत्पादनहरू बिक्री गर्दै आइरहेका छन् ।

अर्ग्यानिक  फापर, कोदो, तामा, जंगली सिलाम, पहाडे मौरीको मह, मसलाहरूजस्ता रैथाने अन्नबाली खायो भने ‘पाखे’ भइन्छ भन्ने बुझाइलाई उनले उल्ट्याइदिएका छन्। पहिले वास्तै नगर्ने त्यही सहरिया वर्ग अहिले उनका नियमित ग्राहक बनेका छन्। रोशन साप्ताहिक हटिया प्रायः छुटाउँदैनन्। ‘अर्ग्यानिक अन्न बेच्ने भेनवाला’को नामले परिचित उनी अहिले हरेक बजारमा खोजी हुने नाम बनिसकेका छन् । 

उच्च शिक्षा हासिल गरेका रोशनले जागिर खाने वा विदेश जाने बाटो रोजेनन्। ‘यो सबै आमाको देन हो। आफ्नै उत्पादन बेचे पनि जीविका चल्न सक्छ भन्ने विश्वास आमाबाट नै आएको हो,’ उनले भने। उनकी आमा दुर्गादेवी ०५३ सालदेखि विराटनगरको पुरानो गुद्री बजारमा पहाडबाट  ल्याइएका निगुरो, रायो, स्कुस, अकबरे, पहाडे बोडी, तामा आदि बिक्री गर्थिन्।

सुरुमा मधेशमा पहाडे तरकारी र अन्नहरू खासै रुचाइँदैनथ्यो । तर, उनले हिम्मत हारिनन् र आफ्नो व्यापारलाई निरन्तरता दिइरहिन् । महानगरले गुद्री हटाएपछि आमा दुर्गादेवीको पसल पनि बन्द भयो। त्यसपछि रोशनले आमाको प्रेरणा र अनुभवलाई व्यावसायिक विस्तार दिए । घरमै अचार उद्योग र कुटानी पिसानी मिल खोले अनि आफैँले संकलन गरेर उत्पादन गरी ब्रान्डिङ गरेका अर्ग्यानिक  उत्पादनहरू घरघर र हाटबजारमा लगेर बिक्री गर्न थाले । यसैले पहिले कोदे र पाखे भनेर कम रुचाइएका ती उत्पादन आज स्वादिलो र स्वस्थबर्द्धक भनेर जनप्रिय बनेका छन् । 

आजकल आफ्नै रैथाने अर्ग्यानिक उत्पादनप्रति आमआकर्षण बढ्दो छ । सस्तो, स्वस्थ र स्वदेशी विकल्प खोज्ने उपभोक्ताको संख्या बढेसँगै युवा रोशनको व्यपारसँगै अभियान पनि सफल हुँदै छ । उनको अभियान आजभाेलि केवल व्यापार नभई स्थानीय कृषक, उत्पादन र संस्कृतिको संरक्षण पनि बन्न पुगेको छ । विराटनगर– १ का नियमित ग्राहक कुमार कोइरालाले भने, ‘हामीले आफ्नै रैथाने अन्नलाई हेला गर्‍याैँ । विदेशीभन्दा सस्तो, स्वस्थ र स्वादिलो आफ्नै उत्पादन हो भन्ने अब थाहा भयो।’