
सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवको मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ।
आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न मधेश प्रदेश कार्यालयबाट एक अधिकृतस्तरको टोली घटनास्थलतर्फ पठाएको आयोगका सहसचिव बद्रीनारायण सहनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोली चलाउँदा यादवको मृत्यु भएको थियो। यस घटनापछि मृतकका परिवार र स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग गरेका थिए। आन्दोलनले उग्र रूप लिएपछि बिहीबार प्रशासन र पीडित पक्षबिच भएको वार्तामा सहमति जुटेको थियो।