
भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरणअनुसार साउन २० गते आएको पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट दुईजनाको शव निकालिएको नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको दूतावासले जनाएको छ ।
त्यसै गरी, उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको छ । घाइते भएका चारजना नेपालीमध्ये तीनजना घर फर्किसकेका छन् भने एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।