
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरेको हो।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पारिन् । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एकजना विद्यार्थी पनि छनोट नगरिएको उनको भनाइ थियो ।वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको उनले बताइन्। ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पुर्याउनका लागि वैज्ञानिक ढंगले छात्रवृत्ति वितरणको काम गरिएको छ,’ उनले भनिन्।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसइईमा ल्याएको नतिजाजस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेन्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए। शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो। छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३३० र अन्य १०८ जना छन्।
छात्रवृत्ति पाउनेमा जेहेनदारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी–जनजातितर्फ ५३, दलिततर्फ २६, अपांगता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २६६ जनालाई छात्रवृत्ति दिएको थियो । महानगरपालिकाले दिएको तथ्यांकअनुसार छात्रवृत्तिका लागि एक हजार १६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।