Skip This
धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरका नौ हिटी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
२o८२ श्रावण २२ बिहीबार १६:३३:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरका नौ हिटी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १६:३३:oo

भक्तपुर नगरपालिका– १ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकी (स्वाःस्वाः) अजिमालाई जल चढाई पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ।

अहिले पनि स्थानीयहरू स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ। तर, स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ।

भक्तपुर नगरपालिका– १ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ। यो हिटीमा स्नान गरी जल ग्रहण गर्नाले टाउको दुख्ने रोग निवारण हुनुका साथै जिउ भारी भई थकानमुक्त हुने स्थानीय ८५ वर्षीय लतङ्काजी खत्रीले बताए। उनले अहिले पनि टाउको दुखेको वेलामा उक्त हिटीमा स्नान गरी गणेश, नारायण र महादेवलाई जल चढाई दर्शन गर्ने गरेको बताए। 

भक्तपुर नगरपालिका– ५ तुलाछेस्थित त्रिपुरा राजदरबारभित्र रहेको त्रिपुरासुन्दरी विद्या पीठको हिटी पनि धार्मिक तथा सांस्कृतिक रूपले अत्यन्त पवित्र मानिन्थ्यो। हिटीसँगै संरक्षणको पर्खाइमा रहेका महादेवलगायत विभिन्न देवीदेवताको मूर्ति रहेको छ। साथै, हिटी परिसर सूर्यविनायक गणेश मन्दिर र कर्माचार्यको आँगद्यो रहेको छ। गणेश र आँगद्योलाई स्नान गराउने यो हिटीको पानी जर्मन परियोजना लागू भएपछि मुहान सुकेर बन्द भएको स्थानीय बताउँछन्।

त्यसैगरी त्रिपुरा राजदरबारभित्रै अर्को धार्मिक हिटी रहेको छ। तर, यो हिटीलाई निजीकरण गरी हाल भुइसाहुको घरको भुइँतल्लामा राखिएको छ। हिटीपरिसर पूरै रत्नभवनको नाममा व्यापारिक क्षेत्रमा परिणत भइसकेको छ भने हिटीमा आउने पानीको स्रोत बन्द छ।

भक्तपुर नगरपालिका– ५, सुकुलढोकाको बुलुबुलु हिटीलाई पनि सांस्कृतिक तथा धार्मिक रूपले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो हिटीको पानी स्थानीय महादेव, नारायणदेवलाई चढाउँछन्। नगरको मुख्य सडकछेउमा रहेको यो हिटीले बटुवाहरूले प्यास मेटाउने कार्यसमेत गर्दै आइरहेको स्थानीय सत्य श्रेष्ठले बताए। हिटी अहिले संरक्षणको पर्खाइमा छ।

धार्मिक र सांस्कृतिक महत्त्वसँग जोडिएका भक्तपुरका नौ हिटीमध्ये भक्तपुर नगरपालिका– ३, नासमना दबु हिटीलाई अर्को पवित्र हिटीका रूपमा लिइन्छ। यो हिटीको पानीले स्थानीय अर्धनारेश्वर र उमामहेश्वरलाई स्नान गराउने परम्परा रहेको स्थानीय ७१ वर्षीय नाराकाजी सिल्पकारले बताए। उनका अनुसार नजिकै मंगलकुण्ड रहे पनि यो हिटीकै पानीले स्नान गराउने परम्परा थियो। यो हिटीको परम्परागत मुहान बन्द भएपछि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी जडान गरी सञ्चालन गरिरहेको छ।

सूर्यविनायक गणेश मन्दिरछेउको इनारे हिटी पनि नौ हिटीसँग जोडिएको हिटी हो। यो हिटीको पानीले सूर्यविनायक गणेश मन्दिरलगायत परिसरमा रहेका सबै देवीदेवतालाई स्नान गराइन्छ। दर्शन पूजनका लागि आएका भक्तजन इनारे हिटीमा हातखुट्टा धाएर चोखो गरी गणेशलाई सोही हिटीको जल चढाई दर्शन गर्ने परम्परा अहिले पनि जीवितै छ।

त्यसैगरी, मन्दिरनजिकै तल ओरालोमा रहेको इनारे लुखाहिटी पनि सांस्कृतिक रूपले अत्यन्त पवित्र मानिन्छ । यो हिटीको पानीले स्थानीय विभिन्न देवीदेवतालाई स्नान गराइन्छ। हाल यो हिटीमा वर्षाको समयमा पानी आउने अरू वेला सुक्खा छ। यो हिटीमा स्थानीयले प्रयोग गर्न मिल्ने गरी धारा जडान गरिएको छ।

संस्कृतिसँग जोडिएका हिटीमध्ये अर्को महत्त्वपूर्ण हिटी हो– भक्तपुर नगरपालिका– ९, तचपालको भिसिंद्यो हिटी। नौ हिटीमध्ये सबैभन्दा बढी क्षेत्रफल ओगटेको यो हिटीपरिसरमा बालबालिकामा रुन्चे लाग्दा मुख धुवाउने पवित्र कुण्ड, नारायण, धार्मिक समन्वय र सदभावको अनुपम उदाहरणस्वरूप शिवलिंग र चैत्यलगायतका विभिन्न देवीदेवताका मूर्ति छन्।

हिटीमा नियमित पानी आइरहेको छ। हिटीको पानीले नियमित भिसिंद्यो र गुरु दत्तात्रयलाई स्नान गराउने परम्परा छ। स्थानीय दैनिकी बिहान नृत्य स्नान गरी हिटीको पानी स्थानीय देवीदेवतालाई चढाउने गर्दछ।

सूर्यविनायक गणेश मन्दिरको इनारे हिटीदेखि सुरु भई क्रमशः इनारे लुखा हिटी, स्वकी अजिमा हिटी, वासिकचा हिटी, नासमना हिटी, त्रिपुरासुन्दरी विद्यापीठ हिटी, भुइँसाहुको घरको हिटी, बुलुबुलु हिटी र भिसिंद्यो हिटी गरी नौ हिटीमा स्नान गरी दर्शन पूजन गरी पूर्णता पाउने धार्मिक मान्यता छ।

उल्लेखित भक्तपुरका हिटी धार्मिक, सांस्कृतिक एवं विभिन्न रोग निदानसँग सम्बन्धित रहेका छन्। भक्तपुरमा धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, सहरको शोभा, सुन्दरता बढाउन विभिन्न कालखण्डमा निर्मित लौकिक वास्तुकलाको अनुपम उदाहरणका रूपमा सुन्दर मनमोहक हिटीहरू छन्। भक्तपुरका हिटीमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन्।

विशेषगरी गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा नौ हिटीमा स्नान गर्नाले पुन्य प्राप्तिका साथै विभिन्न रोगहरूको प्रकोपबाट जोगाउने धार्मिक विश्वास रहेको छ। यस दिन हिटीमाथि अवस्थित उत्तरापन्थका देवीदेवताको दर्शन गर्नाले दिवङ्गत भएका परिवारका सदस्य सापारू (गाईजात्रा)को दिन ईश्वरीय धाममा प्रवेश पाउने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन्।

नगरमा १७ पूर्वाभिमुख, २९ पश्चिमाभिमुख, दुई उत्तराभिमुख र २२ दक्षिणभिमुख हिटी छन्। तीमध्ये पूर्वाभिमुखका नौ हिटीलाई अत्यन्त धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। नौ हिटी लिच्छविकालीन समयमा बनाएको तलेजु तथा त्रिपुरासुन्दरी विद्यापीठको आगंद्योको मुख्य पुजारी सिद्धिवीर कर्माचार्यले बताए।

नेवार समुदायमा गुन्हुपुन्हीको दिन गुपुहिटी सिकवानेगु (नौवटा हिटी चिन्न जाने) परम्परा रहेकाे छ। यसैले भक्तपुरमा रहेको १७ मध्ये स्थानीय जनजीवनसँग जोडिएको पूर्वाभिमुख नौ हिटीमा तीर्थ स्नान गर्न जाने चलन छ।

भक्तपुरका हिटीमध्ये धर्म संस्कृतिसँग जोडिएको नौ हिटीको विशेष महत्त्व रहेको पुरातत्त्वविद्, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले बताए। वास्तुतन्त्र विधिअनुरूप निर्माण गरिएका भक्तपुरको नौ हिटीलाई नवदुर्गा र नवग्रहको आशीर्वादका रूपमा लिन सकिने उनले बताए। श्रेष्ठका अनुसार नौ हिटीमा तीर्थस्नान गर्नाले सुख, शान्ति, समृद्धि प्राप्त गर्नुका साथै स्वस्थ हुने जनविश्वास रहेको छ।

गुन्हुपुन्हीमा नौ जोर लुगा लगाएर, नौ थरीको गेडागुडीको क्वाँटी खाएर, पूर्वतिर फर्केको नौवटा हिटीमा तीर्थ स्नान गर्न गयो भने सुख, शान्ति, समृद्धि भई मृत्युपश्चात् पितृ भएर बाँच्न पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ। तर, आधुनिकतासँगै नौ हिटीमा स्नान गर्न जाने परम्परा लोप हुँदै गएको छ।

भक्तपुर नगर स्थापना गर्ने लिच्छवि राजा आनन्ददेवले वास्तुमय बनाउने क्रममा विभिन्न हिटी निर्माण गरेको इतिहासमा उल्लेख छ। लिच्छवि राजा मानदेव प्रथमको नातिले हिटी बनाएको इतिहासमा उल्लेख छ। भक्तपुरमा लिच्छवि र मल्लकालीन हिटी छन्। तीमध्ये मल्लकालीन ८० वटा र बाँकी लिच्छविकालीन हिटी भएको इतिहासमा छ।

भक्तपुरमा १०३ वटा हिटीमा अहिले करिब ७० वटा बाँकी छन्। अधिकांश हिटी पुरिएको, घाँसेमैदानले छोपिएको देखिन्छ। कतिपय हिटीले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ। भक्तपुरको तलेजुभित्रको हिटी, तमारीको सुनधारा हिटीमा पानी आउन बन्द भएको छ। कतिपय हिटी वर्षामा पोखरीमा परिणत हुन्छ। इन्द्रायणी, महाकाली, पीठको हिटी, बजिगाँचा हिटीको निकास बन्द हुँदा वर्षैभरि पानीले भरिएको हुन्छ भने गोमारीको पञ्चतीर्थको हिटी, भिसिङ्द्यो हिटी वर्षामा पोखरी बन्छ। नौ हिटीमा तीनवटा हिटीमा मात्र पानी आउँछ। अरू सबै पुनर्जीवनको पर्खाइमा बसेका छन्।