
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने बारा निजगढ नगरपालिका–१२ घर भएका ४१ वर्षीय रामबहादुर थिङ रहेका छन्।
थिङले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जनाबाट २९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बाट उनलाई मंगलबार पक्राउ गरेको हो।
यसैगरी, हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने रामेछापको रामेछाप नगरपालिका–३ घर भएका ३७ वर्षीय चन्द्रबहादुर सुवेदीलाई पनि पक्राउ गरेको छ। उनले हंगेरी पठाइदिन्छु भन्दै एकजनाबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ।
मध्यपुर थिमि–३ बाट बुधबार पक्राउ परेका सुवेदी र थिङ दुवैलाई प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।