
देशको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा अवस्थित बुकी पाटनको सौन्दर्यले पर्यटक तानिरहेको छ । पछिल्ला वर्ष यात्रा गर्ने बाटो सहज भएपछि बुकी पाटन उक्लिने यात्री बढिरहेका छन् । पर्यटक ओहोर–दोहोर गर्ने बाटोछेवैमा गोठ बनाएर वर्षौँदेखि बाख्रा र भैँसी पाल्दै आएकी सुबित्रा कुमाईको व्यस्तता पनि उत्तिकै बढेको छ । कारण हो, लेकको गोठमा चिया–नास्ताको व्यापार फस्टाएको छ ।
ढुंगामाथि ढुंगा खप्ट्याएर उभ्याएको गाह्रो, लहर नमिलाई छापिएको ढुंगाकै छानो । उकालो चढ्दाचढ्दै थाकेका, तिर्खाएका, भोकाएका पर्यटकहरू बाटोछेवैको गोठमा धुवाँ पुत्पुताएको देखेपछि टुसुक्क बस्छन् । केही खान पाइन्छ कि भनेर सोध्छन् । सुबित्रा मुस्कानसहित मिठो स्वरले मेनु सुनाउँछिन्– चिया, बिस्कुट, दुध, मोही, खाजा के खाने ?
यतिका मेनु पाएपछि भोकाएका यात्रुलाई के चाहियो ? अर्डरअनुसार सुबित्राले तयार पारिदिन्छिन् । यात्रु हल्का थकाइ र भोक मेटेर सुबित्रालाई धन्यवाद दिँदै यात्रालाई निरन्तरता दिन्छन् । गोठमा सुबित्रा पनि आफ्नो कामलाई निरन्तरता दिन्छिन्, किनकि एकाथरि निस्किए पनि अर्काथरि पुगिहाल्छन् । दैनिक सयको हाराहारीमा पर्यटक बुकी पाटन उक्लिन्छन् ।
‘यहाँ हाम्रो भेडीगोठ वर्षौँदेखि छ । भेडाबाख्रा र भैँसी पाल्न हरेक बर्खामा बुकी पाटन क्षेत्रमा आउँछौँ । दुई वर्षअघिसम्म यस क्षेत्रमा कोही पर्यटक आउँदैनथे, गत वर्षदेखि बुकी पाटन जाने बाटो सजिलो बनेपछि मानिसहरू घुम्न आउन थालेका छन्,’ उनले भनिन्, ‘गोठमा हामीलाई देखेपछि यहाँ यात्रा गर्नेहरूले चिया–नास्ता पाइन्छ होला भनेर सोध्न थाले । धेरै मान्छेको ओहोर–दोहोर चल्न थालेपछि हामीले गोठमै चिया–नास्ता बनाउन थालेका हौँ ।’
गोठमा सुबित्रा चिया व्यापारमै व्यस्त हुन थालेकी छिन् । ६० बाख्रा र तीनवटा भैँसीको स्याहार सुसार उनका श्रीमान्ले गर्छन् । गोठमा उत्पादन हुने दुध, घिउ, दही र भेडाको मासुसमेत बुकी पाटनमै खपत हुन थालेको उनीहरू बताउँछन् । सुबित्राले एक कप दुध चियाको सय रुपैयाँ लिन्छिन् । अहिले दिनमै सयदेखि डेढ सय कप बिक्री हुने गरेको उनले बताइन् । यहीँको आयआर्जनले उनीहरूको पाँचजनाको परिवार धानिएको छ ।
‘यो वर्ष असार अन्तिम सातादेखि यहाँ आएको हो । अहिलेसम्म चिया खाजाबाट मात्रै ४५ हजार कमाइ भएछ,’ सुबित्राले भनिन् ।
सुबित्राका दम्पती मात्रै होइन, यस क्षेत्रमा गोठ आएका अन्य मानिस पनि व्यावसायिक बन्दै गएका छन् । यहाँ उत्पादन हुने घिउ, दुध र मोही पनि बिक्री भएका छन् । विगतमा ढोरपाटन उपत्यका झर्नुपर्ने बाध्यता अहिले टरेको बुकी पाटनमै भेडाबाख्रा र भैँसी पाल्दै आएका प्रसेन कायत बताउँछन् । ‘पहिले दुध ठेकामा राखेर दही बनाएर घिउ उत्पादन गरेर बेचिन्थ्यो, मोही त फालिन्थ्यो, अहिले बुकी पाटनमा पर्यटकहरू आएपछि मोहीसमेत बिक्री हुन्छ,’ उनले भने, ‘घुम्न आएका केही पर्यटक गोठमै वाससमेत बस्छन् । खिर पकाएर खुवाउँछु । दुध बेच्न ढोरपाटन झर्नुपर्दैन ।’ गर्पाछेडा भन्ने ठाउँमा त गोठ–स्टे नै चलाइएको छ । बुकी पाटन आउने पर्यटक गोठ–स्टेमा बसेर फर्किने गर्छन् ।