
बागमती प्रदेश सरकार समावेशी बनाउनुपर्ने मागसहित नेपाल दलित संघ, काठमाडौंले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।
बिहीबार संघका अध्यक्ष सुरेश परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले देउवानिवास बुढानीलकण्ठ पुगेर प्रदेश सरकारमा दलित तथा सीमान्तकृत समुदायलाई समेट्न माग गर्दै ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिमण्डलमा संविधानसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियार, दलित संघका केन्द्रीय सदस्यलगायतको सहभागिता रहेको थियो । उनीहरूले पछिल्ला सरकार गठनमा दलित समुदायलाई निरन्तर ओझेलमा पारिएको भन्दै गुनासो गरेका थिए ।
‘२०७९ सालदेखि अहिलेसम्म गठन भएका पाँचवटा प्रदेश सरकारमध्ये कुनैमा पनि दलित समुदायको प्रभावकारी सहभागिता सुनिश्चित हुन सकेको छैन,’ प्रतिनिधिमण्डलले ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ।
हालै कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा गठन भएको सरकार मन्त्रिपरिषद् विस्तारको चरणमा रहेको भन्दै यसपटक दलित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको हाे ।
प्रतिनिधिमण्डलले देउवालाई २०७९ पुसदेखि २०८१ साउनसम्म गठन भएका विभिन्न गठबन्धन सरकारहरूले समेत दलित समुदायका मुद्दा बेवास्ता गरेको जानकारी गराएको थियो ।
देउवाले कांग्रेसले समावेशितालाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै सबै समुदायलाई समेट्ने प्रयास भइरहेको बताएका छन् । साथै, मुख्यमन्त्री बानियाँसँग समावेशिताका सन्दर्भमा छलफल गरी आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।