
नेपाली कांग्रेस गण्डकी प्रदेशको महिला विभाग प्रमुखमा शकुन्तला शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमिति सदस्यसमेत रहेकी शर्मालाई महिला विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेका छन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को परिच्छेद ४ धारा १३ (१०) (झ) बमोजिम नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिअन्तर्गतको महिला विभाग प्रमुखको जिम्मेवारी तोकिएको सभापति शर्माले जानकारी दिए ।
नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी शर्मा नेपाल महिला संघ पर्वत र बागलुङको सचिव हुँदै लामो समय बागलुङको अध्यक्ष भएर महिला संघको नेतृत्व समालेकी व्यक्ति हुन् । उनी नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय महिला विभाग उपाध्यक्ष र नेपाल शिक्षक युनियन उपाध्यक्ष रहेर काम गरेकी छिन् । उनी नेपाली कांग्रेस बागलुङको महाधिवेशन प्रतिनिधि हुन् भने गण्डकी प्रदेश कार्यसमितिको सदस्य हुन्।
बुधबार महिला विभागको परिचयात्मक कार्यक्रमका साथै सदस्य मनोनीत पनि गरिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला समेट्ने गरी २५ जना सदस्य मनोनीत गरी विभागलाई पूर्णता दिइएको छ। कांग्रेसको विधानअनुसार मनोनीत गर्नुपर्ने सदस्य मनोनीत गरिएको र आगामी बैठकमा उपप्रमुख र सचिवको समेत जिम्मेवारी प्रदान गर्ने शर्माले बताइन् ।