
प्रतिनिधिसभा सदस्यहरूले लामो खडेरीपछि केही दिनयता मुलुकका विभिन्न भागमा भइरहेको वर्षाका कारण हुन सक्ने सम्भावित प्राकृतिक विपतबाट नागरिकको जिउधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकका आकस्मिक समयमा उनीहरूले बाढीपहिराेका कारण अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याउन तथा वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकृष्ट गरे ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले लामो समयको खडेरीपछि तराई र पश्चिम नेपालमा मनसुन सक्रिय भएकाले सो क्षेत्रका जनतालाई सम्भावित प्राकृतिक विपत्तिबाट जोगाउन समयमै पहल थाल्न आग्रह गरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्षाका कारण देशभर राजमार्ग प्रभावित भएको जनाउँदै तत्काल सुरक्षित ढंगबाट यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले तराई–मधेशका क्षेत्रमा सर्पदंशको घटना दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै स्थानीयस्तरमा सर्पदंश उपचारको प्रबन्ध गर्न माग गरे । आम जनता पार्टीका सांसद प्रभु साहले खडेरीको मारमा परेका तराई–मधेशका किसानलाई उचित राहत दिन माग गरे ।