मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १३:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सरकारको एक वर्ष : १०६ किलोमिटर सडक कालोपत्रे, करिब २७ किलोमिटर तटबन्ध निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले सरकारले एक वर्षको अवधिमा प्रदेशभरि १०६ किलोमिटर सडक कालोपत्रे गरेको, १०२ किलोमिटर सडक ग्राभेल गरेको, १४६ किलोमिटर कच्ची सडक निर्माण गरेको बताए ।

यो अवधिमा ६ वटा सडक पुल निर्माण गरेको, भूमिगत र सतह सिँचाइ आयोजना निर्माण गरेर एक हजार तीन हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको, बाढीबाट बस्ती तथा खेतीयोग्य जमिन बचाउन २६.८३ किलोमिटर तटबन्ध निर्माण गरेर ३७.५ हेक्टर जमिन उकास गरेको उपलब्धि मुख्यमन्त्री शाहले सार्वजनिक गरे । 

त्यस्तै, खानेपानीका ८४१ इन्टेक, पाँच सय पोखरी निर्माण तथा दुई हजार १३३ किलोमिटर पाइपलाइन जडान गरी ११ हजार ९३९ निजी धारा जडान गरेर एक लाख तीन हजार जनसंख्यामा खानेपानी विस्तार गरेको दाबी उनले गरे । एक वर्षमा सुदूरपश्चिममा १४ हजार ७३२ वटा सवारीसाधन दर्ता भएर सुदूरपश्चिममा सवारीसाधनको दर्ता संख्या दुई लाख २१ हजार ४६४ पुगेको छ । यो अवधिमा प्रदेशभरि १८ हजार ५४५ नयाँ सवारीचालक अनुमतिपत्र जारी गरिएका छन् ।

मुख्यमन्त्री शाहले कृषिमा उत्पादन र उत्पादकत्व बढाउन एक वर्षको अवधिमा सुदूरपश्चिमका १५१ जना कृषकलाई ९७ लाख रुपैयाँ अनुदान वितरण गरिएको तथा सानाठुला गरी ९८८ वटा कृषियन्त्र वितरण गरिएको जानकारी दिए ।

प्रदेश सरकारले सार्वजनिक गरेको एक वर्षको उपलब्धि वितरणअनुसार पछिल्लो एक वर्षमा सुदूरपश्चिममा एक हजार ९६४ वटा नयाँ उद्योग दर्ता गरिएका, ११० वटा उद्योगका लागि प्रविधि हस्तान्तरण गरिएको र ९५६ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेशको खर्च गर्ने क्षमता वृद्धि गर्दै हालसम्मकै सबैभन्दा उच्च ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको मुख्यमन्त्री शाहले बताए । ३१ वटा मठमन्दिर निर्माण, साक्षर प्रदेश घोषणा, नौवटै जिल्ला पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा, स्तन क्यान्सरको स्क्रिनिङ सेवा सञ्चालन, १८ वटा ऐन, कानुन, नियम, निर्देशिका र कार्यविधि निर्माण तथा सार्वजनिक सेवाको प्रभावकारितालाई सरकारले आफ्नो उपलब्धिमा राखेको छ । त्यस्तै, एक वर्षमा ६ वटा सामुदायिक भवन, जनता आवास योजनाअन्तर्गत ११० वटा निजी आवास र तीनवटा एकीकृत आवास निर्माण गरिएको मुख्यमन्त्री शाहले दाबी गरे ।

प्रदेश सरकारका सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई राखेर मुख्यमन्त्री शाहले एक वर्षका उपलब्धि सार्वजनिक गरेका हुन् । उनले प्रदेश राजधानीका सन्दर्भमा तोकिएकै ठाउँमा जग्गा प्राप्तिको प्रयाससँगै विकल्पबारे पनि छलफल भइरहेको जानकारी दिए । केन्द्रमा सत्तासमीकरण फेरिएपछि गत वर्ष २० साउनमा उनी दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । 

‘राजनीतिक र शासकीय दृष्टिकोणबाट मेरो एक वर्षको कार्यकाल सफल रहेको महसुस गरेको छु,’ मुख्यमन्त्री शाहले भने, ‘राजनीतिक स्थायित्वको प्रत्याभूति भएकाले सरकार सञ्चालन एवं विकास गतिविधिलाई तीव्रता दिनका लागि उपयुक्त र भरपर्दो आधार निर्माण भएको छ ।’ सडक, सिँचाइ, खानेपानी, भवन आदि पूर्वाधार निर्माण, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि तथा शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएका उनले दाबी गरे ।