
अस्पतालहरूको जग्गा अतिक्रमण र दुरुपयोग रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूसँग जग्गाको विवरण माग गरेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न यस्तो कदम चालेका हुन्।
मन्त्रालयका अनुसार हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरेको छ। जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरूलाई मन्त्री पौडेलले निर्देशन दिएका छन्।
यसअघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरूका नाममा सात दिनभित्र विवरण पठाउन मंगलबार नै परिपत्र गरिएको छ।
प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ। मन्त्री पौडेलले यसअघि अतिक्रमणमा परेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नाममा रहेको अतिक्रमित जग्गा संरक्षणमा समेत पहल गरेका थिए। अब केन्द्रकै सेवा विस्तारका लागि जग्गा उपयोग गर्ने तयारी अघि बढाइएको छ।
मन्त्रालयका अनुसार कतिपयको जग्गा लिजमा दिइएको छ भने केहीको दर्ता हुनसमेत बाँकी छ। जग्गा नहुँदा तथा दुरुपयोग हुँदा सेवा प्रवाहमा नै समस्या देखिएको र सेवा विस्तारमा असर परेको भन्दै मन्त्रालयले पत्राचार गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरूका जग्गा संरक्षणमा थालिएको प्रयासले सकारात्मक नतिजा दिने बताए।