
काठमाडौं जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले झालाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनी आजै डिल्लीबजार कारागार चलान भएका छन्।
अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए ।
अभियोग पत्रअनुसार अहिराजले ४ जेठ ०८१ मा युवतीलाई बलात्कार गरेका थिए । त्यसपछि उनले घटना सार्वजनिक नगर्न ज्यान मार्ने धम्की दिएका थिए । बलात्कृत युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार अहिराजले पैसा र पावर हुनेको कानुन रहेको भन्दै मुख थुनेर बलात्कार गरेका थिए ।