
अहिले सिँचाइका लागि किसानले प्रतियुनिट न्यूनतम २.२५ रुपैयाँमा विद्युत् पाइरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली दिने बताएका छन् । प्रधानमन्त्रीले महसुलदर घटाएको आशय व्यक्त गरे पनि प्रचलित दरभन्दा बढी उल्लेख गरेपछि किसान र सरोकारावाला अलमलमा परेका छन् ।
महसुलदर घटाएको आशय व्यक्त गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ ।’
सरकारले मधेशमा देखिएको सुक्खाको संकट समाधानका लागि तत्काललाई जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्न मधेशमा ५०० वटा बोरिङ खन्ने घोषणा गरिसकेको छ । सोही विषयलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्रतियुनिट तीन रुपैयाँमा विद्युत् दिने बताएका हुन् ।
जबकि, यसअघि नै सिँचाइका लागि विद्युत्को न्यूनतम शुल्क प्रतियुनिट २.२५ रुपैयाँ छ । असार ०७७ देखि प्राधिकरणले लागू गरेको नयाँ महशुलदर अनुसार सिँचाइका लागि भोल्टेजअनुसार प्रतियुनिट न्यूनतम २.२५ रुपैयाँदेखि २.६० रुपैयाँसम्म महसुल छ ।
अर्थात्, किसानहरूले अधिकतम २.६० रुपैयाँ प्रतियुनिटमा विद्युत् खपत गर्न पाएका छन् । तर, ओलीले तीन रुपैयाँ लाग्ने बताएका छन् । प्रधानमन्त्रीले यस विषयमा थप प्रस्ट पारेका छैनन् । तर, उनको यो उद्घोषबाट नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग र किसान भने अलमलमा परेका छन् ।
यद्यपि, टाइम अफ डे (टिओडी) मिटर प्रयोग गर्ने ग्राहकको हकमा सिजन र समयअनुसार दुई रुपैयाँदेखि ६.४० रुपैयाँसम्म तिर्नुपर्छ । तर, सिँचाइमा टिओडी मिटर प्रयोग गर्ने ग्राहक एकदमै न्यून छन् । अहिले सिँचाइका लागि तीन रुपैयाँभन्दा सस्तो महसुल रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।