
पोखरा महानगरपालिका–९, नागढुंगास्थित चरक मेमोरियल हस्पिटलमा उपचारका लागि भर्ना भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ७४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । चरकमा उपचारका लागि भर्ना भएकी ती महिलामा २५ असारमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको थियो । कोरोना देखिएपछि चरकमा उपचार गराइरहेकी महिलाको आइतबार साँझ मृत्यु भएको खड्काले जानकारी दिए । कोरोनासँगै ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्यासमेत थियो।
निर्देशक खड्काका अनुसार जनवरी २०२५ यता गण्डकीमा आठ जनामा कोरोना देखिएकोमा अन्य सातजनाको उपचार भएको र एकजनाको मृत्यु भएको हो । आठजना संक्रमितमध्ये कास्कीका पाँच, बागलुङका दुई र स्याङ्जाका एकजना रहेका उनले जानकारी दिए ।
कोरोना संक्रमितको मृत्यु सम्बन्धमा चरकका प्रबन्ध निर्देशक कपिल पोखरेलले केही बताउन चाहेनन् ।