
निर्वाचन प्रणालीको पुनर्गठनको माग गर्दै बंगलादेशको सबैभन्दा ठुलो इस्लामिक पार्टी जमात–ए–इस्लामीका लाखौँ समर्थकले राजधानी ढाकामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री शेख हसिनाको पदच्युतपछि दक्षिण एसियाली राष्ट्रमा अर्को वर्ष चुनावमा जाने अपेक्षा गरिएको छ ।
जमात–ए–इस्लामीले मुहम्मद युनुसको नेतृत्वमा रहेको देशको अन्तरिम सरकारसमक्ष स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण चुनाव, सबै आमहत्याका लागि न्यायिक छानबिनलगायतका सातबुँदे माग राखेको छ । पार्टीले चुनावमा समानुपातिक प्रतिनिधित्व प्रणाली लागू गर्न चाहेको पनि जनाएको छ ।
र्यालीअघि जमात–ए–इस्लामीका हजारौँ समर्थकहरूले ढाका विश्वविद्यालय क्याम्पसमा रात बिताए । प्रचण्ड गर्मीको सामना गर्दै प्रदर्शनकारीहरू ऐतिहासिकस्थल सुहरावर्दी उद्यानतर्फ ओइरिए, जहाँ डिसेम्बर १६, १९७१ मा पाकिस्तानी सेनाले भारत र बंगलादेशको संयुक्त सेनासमक्ष आत्मसमर्पण गरेको थियो र नौ महिना लामो युद्धको अन्त्य भएको थियो ।
‘हामी यहाँ नयाँ बंगलादेशका लागि छौँ, जहाँ इस्लाम शासनको मार्गदर्शक सिद्धान्त हुनेछ र असल मानिसले देशमा शासन गर्नेछन्,’ ४० वर्षीय इकबाल हुसेनले भने । केही प्रदर्शनकारीले पार्टीको लोगोअंकित टिसर्ट लगाएका थिए, अरूले पार्टीको नाम अंकित हेडब्यान्ड लगाएका थिए । प्रदर्शनमा २० देखि ३० वर्षका युवाहरू सहभागी थिए ।