मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
गृहेन्द्र घिमिरे
Invalid date format o७:२८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘नेसनल इभेन्ट’ बन्नुपर्छ एनपिएल

हिजोका कमी–कमजोरीलाई सच्याएर नयाँ सिजनलाई थप सहज र व्यवस्थित बनाउन सामूहिक रूपमा अगाडि बढ्न जरुरी छ 

Read Time : > 4 मिनेट
गृहेन्द्र घिमिरे
नयाँ पत्रिका
Invalid date format o७:२८:oo

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तयारी प्रारम्भ भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र प्रतियोगी टिम आवश्यक तयारीमा जुटिसकेका छन् । सहभागी टिमले मार्की र ६ खेलाडी रिटेन गरिसकेका छन् । म आबद्ध रहेको ‘कर्णाली याक्स स्पोर्टस् प्रालि’ले प्रशिक्षकका रूपमा ज्ञानेन्द्र मललाई नियुक्त गरेको छ । 

एनपिएलले क्रिकेटलाई पक्कै नयाँ उचाइमा पुर्‍यायो । यसलाई नेपाली खेलकुदको इतिहासमा उपलब्धि नै मान्नुपर्छ । यो उपलब्धिले खेलाडी, खेलप्रेमी हामीलाई बेग्लै ऊर्जा थपिदिएको छ । पहिलो संस्करणका उपलब्धिलाई संस्थागत गर्दै कमजोरीको समीक्षा गर्न जरुरी छ ।

कमजोरीबाट सिकेर प्रतियोगितालाई थप उचाईंमा पुर्‍याउनु आवश्यकता पनि हो । पहिलो संस्करणमा हामीले विभिन्न खालका समस्याको सामना गर्नुपर्‍यो । तमाम समस्या र प्रतिकूलताका बाबजुद पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । पहिलो संस्करणमा अवसरसँगै चुनौती धेरै थिए । हामीसँग प्रतियोगिता तयारीका लागि समय पर्याप्त थिएन । जसले गर्दा प्रतियोगिताको समग्र व्यवस्थापनकै चुनौती थियो । यसको प्रत्यक्ष प्रभाव दर्शक, खेलाडी, टिम सञ्चालकमा पर्‍यो । पहिलो सिजनमा देखिएकोे समस्या क्रिकेट रंगशाला नै हो ।

पहिलो सिजनमा देखिएकोे समस्या क्रिकेट रंगशाला नै हो । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अधुरो संरचनाले व्यवस्थापनमा चुनौती थपेको थियो । कतिसम्म भने, प्रमुख अतिथि आउँदा राख्ने ठाउँको अभाव भयो ।
 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अधुरो संरचनाले व्यवस्थापनमा चुनौती थपेको थियो । कतिसम्म भने प्रमुख अतिथि आउँदा राख्ने ठाउँको अभाव भयो । ठाउँकै अभावले गर्दा भिभिआइपी अतिथि र विदेशी खेलाडीलाई एउटै ठाउँमा राख्नुपर्ने बाध्यता भयो । टिमको सञ्चालकको हिसाबमा म (पंक्तिकार) आफैँ आफ्ना अतिथि ल्याउन गेटसम्म जानुपर्ने स्थिति थियो । अथवा भनौँ, अतिथि दर्शक स्वागत गर्न गेटमै बसिरहनुपर्ने बाध्यता बन्यो । छोटो समय भएकाले क्यान र फ्रेन्चाइजीहरूले तयारीको पर्याप्त समय नपाउँदा भोग्नुपरेको यो पहिलो समस्या थियो । दोस्रो सिजनमा नदोहोरिने गरी यस्ता कुरालाई व्यवस्थान गर्न जरुरी छ । 

अहिले सरकारले पहलकदमी लिएर क्रिकेट मैदानको द्रुत रूपमा काम भइरहेको छ । यसबाट सिट व्यवस्थापन सहज हुन्छ भन्ने विश्वास छ । खेलप्रेमी दर्शकलाई सुविधा दिनुपर्ने हाम्रो दायित्व पनि हो । जुन सिटका लागि टिकट काटेको हो सोही सिट नम्बरमा दर्शकले बस्न पाउने सुनिश्चित गरिनुपर्छ । टिकट काटेको दर्शक कहाँ बस्ने, अनर लाउञ्ज कुन हो, खेलाडीको परिवार कहाँ बस्छ भन्ने वर्गीकरण क्यानले गर्नुपर्छ । आशा छ, ट्वाइलेट, बाथरुम र क्याफ्टेरियाको पनि उचित व्यवस्थापन हुनेछ । 

पहिलो सिजनमा छुटेको क्लब सञ्चालकलाई मैदान प्रवेशको अवसर पनि अब दिनुपर्छ । छिमेकी मुलुक भारतमा सञ्चालन हुने आइपिएलमा खेल सकिएपछि क्लब सञ्चालकलाई मैदान प्रवेश गर्न दिइन्छ, उनीहरूले खेलाडीलाई अँगालो हालेर हौसला दिन्छन् । हाम्रो नेपालमा दोस्रो सिजनमा कम्तीमा खेलमा जितहार जे भए पनि मैदानको पेरिफेरीमा क्लब सञ्चालक जाने अनुमति दिएर खेलाडीलाई हौसला दिने वातावरण बन्नुपर्छ । क्यानले यसको मापदण्ड बनाउनुपर्छ ।

पहिलो सिजनमा खड्किएको अर्काे विषय हो, सञ्चालकलाई मैदानमै आफ्नोबाहेक टिमको खेल हेर्ने सुविधा नहुनु । जुन टिमको खेल हो, त्यसका सञ्चालकले स्वतः हेर्न पाउँछन् । त्योबाहेक अन्य टिमका सञ्चालकले हेर्ने छुट्टै ठाउँ यो सिजनमा क्यानले व्यवस्थापन गर्नुपर्छ । किनकि क्यान र फ्रेन्चाइजी टिम भनेको परिपूरक हो । दुवैको दायित्व छ । यसले स्टेडियममै बसेर कुन टिमले कसरी खेलिरहेको भनेर रणनीतिक रूपमा पनि हेर्न पाउँदा स्वस्थ प्रतिस्पर्धामा सघाउनेछ । पहिलो सिजनमा देखिएका ५० प्रतिशत समस्या मैदान निर्माण सम्पन्न भइसकेपछि हल हुने देखिन्छ । विगतमा आयोजकले रातको समय खेल खेलाउन सकेको थिएन, अब राति पनि खेल हुन सक्ने अवस्था बन्दै छ । 

टिमहरूबिच समन्वय :  पहिलो सिजनमा टिमहरूबिच समन्वय नहुँदा बजारमा समेत अस्वस्थ प्रतिस्पर्धा सिर्जना भयो । होटेलको बुकदेखि लिएर बिज्ञापनसम्म अस्वस्थ प्रतिस्पर्धा भयो । जसले टिमहरूलाई नै नोक्सानी ग¥यो । दोस्रो सिजनमा क्यानको मध्यस्थतामा यो व्यवस्थित हुनुपर्छ । बजारमा जाँदा पनि एउटै दररेटमा समन्वय गरेर जानुपर्ने देखिन्छ । यसका लागि टिमबिच समन्वयको सुरुवात पनि भइसकेको छ । क्यानले पनि एउटा गाइडलाइन बनाउनुपर्छ । जसले व्यावसायिक रूपमा धान्न सक्ने स्थिति सिर्जना हुनेछ । 

राज्यले एनपिएललाई ‘नेसनल इभेन्ट’को रूपमा लिन सकेन । राज्यले एनपिएललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन र पर्यटन प्रवर्द्धनको अवसरलाई उपयोग गर्न सक्थ्यो । दोस्रो सिजनमा सरकारलाई यो अवसरलाई उपयोग गर्न सक्नुपर्छ ।सरकारले प्रतियोगिकताका लागि विदेशी खेलाडी ल्याउन सहजीकरण गर्नुपर्छ । विमानस्थलमा छुट्टै डेस्क स्थापना गरिनुपर्छ । डेस्कमार्फत पाहुनाको रूपमा स्वागत गर्ने काम सरकारले गर्नुपर्छ । यसलाई सरकारले नै अपनत्व लिनुपर्छ । यसरी नेसनल इभेन्टको रूपमा मनाउनुपर्छ । 

‘होम एन्ड अवे’को अवधारणा :  एनपिएलमा सात प्रदेशलाई प्रतिनिधित्व हुने गरी टिम छन् । तर, खेल काठमाडौंमा मात्र सीमित भइरहेका छन् । अब होम एन्ड अवे अवधारणामा जानुपर्छ । काठमाडौं केन्द्रित प्रतियोगिताबाट हामी बाहिर निस्किनुपर्छ । यसका लागि सातवटै प्रदेशमा सरकारले पूर्वाधार तयार गर्नुपर्छ । 

‘कर्णाली याक्स’को खेल कर्णालीमा खेलाउँदा खेल विकास सहयोग पुग्छ । काठमाडौंसम्म आइनपुगेका दर्शक त्यही हेर्न पाउँथे । त्यसले क्रिकेट (खेल)सँगै ठाउँको पनि प्रवर्द्धन हुन्थ्यो । त्यस ठाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्थ्यो । जसले गर्दा देशको अर्थतन्त्रलाई ठुलो सहयोग पुग्छ । 

चितवनको खेल चितवन रंगशालामा खेलाउँदा क्रिकेटको विस्तार हुन्छ । जसले खेलप्रेमी, र समर्थक संख्या बढ्छ । सातै प्रदेशको बजार र अर्थतन्त्र चलायमान हुन्छ । उदाहरणका लागि कर्णाली याक्सले तीन सिजनपछि कर्णालीमै क्रिकेट स्टेडियम बनाएर गेम खेलाउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग समन्वय र संवाद अगाडि बढाइरहेको छ । दोस्रो सिजनमा कर्णालीले आफ्नो खेल हुँदा कम्तीमा प्रदेश राजधानीमा एलइडीमा देखाउने अभ्यासको सुरुवात गर्दै छ । सात प्रदेशमै पूर्वाधार निर्माण गरेर प्रतियोगी सञ्चालन गर्न सक्यो भने फराकिलो सम्भावना देखिन्छ । 

प्रदेश सरकारको भूमिका :  सबै प्रदेशको टिमले एनपिएल क्रिकेटको शोभा बढाइरहेका छन् । पहिलो सिजनमा प्रदेशगत टिमको खेल काठमाडौंमै भयो । अब दोस्रो सिजनमा प्रदेशले अपनत्व लिने हिसाबले अभियान सञ्चालन गरिनुपर्छ । यसका लागि प्रदेश सरकार र सरकारी निकायबाट सहयोग हुनुपर्छ । 

प्रदेशले अपनत्व लिएर प्रारम्भमा खेलप्रेमीका लागि खेल भएको दिन प्रदेशकै खुला ठाउँमा टेलिभिजनबाट खेल हेर्ने वातावरण बनाइदिने, खाजाको व्यवस्था गरिदिने, प्रदेश सरकारले पाँच हजार जर्सी क्लबसँग किनेर फ्यानहरूलाई वितरण गर्ने गर्नुपर्छ । यसले क्रिकेटप्रेमी खेलाडी, क्लब र खेलाडीलाई हौसला हुन्थ्यो ।

क्रिकेट पर्यटन :  नेपालमा क्रिकेट पर्यटनको ठुलो सम्भावना देखिन्छ । यसका लागि पूर्वप्रवर्द्धनका लागि आवश्यक तयारी गर्न जरुरी छ । त्यो क्लबबाट पनि हुनुपर्छ । क्यानबाट पनि हुनुपर्छ । राज्यको निकायको रूपमा खेलकुद मन्त्रालयबाट प्रवद्र्धनको ठोस रणनीति आउनुपर्छ । सरकारले एउटा ‘नेसनल इभेन्ट’को रूपमा अपनत्व लिनुपर्छ । यसलाई सरकारले अपनत्व लिए दोस्रो सिजनमा बृहत् बनाउन, सहभागिता बढाउन र व्यापारिक हिसाबले प्रवद्र्धन गर्न सहयोग पुग्छ । 

खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले यसमा पहलकदमी लिन जरुरी छ । मन्त्रालयले विदेशी खेलाडी ल्याउन र उनीहरूमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न राजदूतावासमार्फत समन्वय गर्न सक्छन् । सबै मन्त्रालयले आ–आफ्नो ठाउँबाट सहजीकरण गर्ने हो भने एनपिएललाई एकदमै नेसनल इभेन्टको रूपमा विकास गर्न सकिन्छ ।

राज्यको भूमिका : एनपिएलको पहिलो संस्करणमा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका खेलाडीको उल्लेख्य सहभागिता रह्यो । यसले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत त गर्‍यो नै पर्यटन प्रवर्द्धनमा पनि योगदान गर्‍यो । तर, विदेशी खेलाडीलाई नेपाल ल्याउने र सत्कार गर्ने सवालमा राज्यले सहजीकरणको भूमिका निभाएको देखिएन ।

क्रिकेटलाई पर्यटनसँग पनि जोड्न सकिन्छ । तर, एनपिएलको अघिल्लो सिजनमा नेपालको क्रिकेट र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण विदेशी खेलाडीको श्रम स्वीकृतिमै पापड पेल्नुपर्ने अवस्था बन्यो । विदेशी खेलाडीको श्रम भिसा मिलाउन खेलकुद मन्त्रालयमै धाउनुपर्ने र घण्टौँ कुर्नुपर्ने स्थिति रह्यो । यहाँनेर खेलकुद परिषद्को पनि भूमिका देखिएन । नेपालको पर्यटन प्रवर्द्धनको दूतको रूपमा आफ्नो परिवारसहित आएको विदेशी खेलाडीलाई विशेष व्यवहार गर्नुपर्ने राज्यले विमानस्थलमा स्वागत र समन्वय गर्ने कुरामा पनि कञ्जुस्याइँ गर्‍यो । 

विदेशी खेलाडीबाट हुने निःशुल्क प्रवर्द्धनलाई राज्यले बुझेन । आगामी सिजनमा यी पक्षहरूमा सरकारले विशेष ध्यान दिन जरुरी छ । यसका लागि सरकारले क्यानलाई सम्पूर्ण जिम्मेवारी दिन सक्छ । क्रिकेटलाई अझै उचाइमा पु¥याउन क्यानलाई पूर्ण स्वायत्त बनाउने गरी नीतिगत सुधार पनि गर्न सकिन्छ ।

स्वायत्त क्यानले अहिलेभन्दा अझै राम्रो र राष्ट्रकै लागि गरिमा बढाउने काम गर्न सक्छ । विदेशी खेलाडीलाई पाहुनाको रूपमा उच्चतम स्वागत सत्कार गर्दा नेपालप्रतिको सकारात्मक दृष्टिकोण र प्रतियोगितामा अपनत्व महसुस गराउन मद्दत पनि गर्छ । नेपालको सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता पर्यटकीय गन्तव्य चिनाउन र प्रवर्द्धन गर्न यसले सघाउँछ । त्यसैले, सरकारले एनपिएललाई एउटा नेसनल इभेन्टको रूपमा हेर्नुपर्छ र क्यानलाई स्वतन्त्र निकायको रूपमा स्थापित गर्नुपर्छ ।