
निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथिको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिव्रता दिएको छ । आयोगले मंगलबार उनलाई सोधपुछका लागि बोलाएको छ ।
घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले राजीनामा दिएका थिए। सोही अडियाका विषयमा उनीमाथि आयोगले छानविन थालेको हो । गुप्ताले पोखराको विवादास्पद जग्गाको विषयमा अनुकुल फैसला गराउन बिचौलियामार्फत ५३ लाख घुसको डिल गरेका थिए। तर, भुमी आयोगको अध्यक्ष नियुक्त गर्न पनि २५ लाखको डिल भएको सुनिन्छ । उनको आवाजको नमुना लिएर सार्वजनिक भएको अडियोको तुलना गरी प्रहरीको ल्याबमा यसको परीक्षण हुन लागेको आयोग स्रोत बताउँछ । आवाज ‘म्याच’ भएमा उनीमाथि विस्तृत अनुसन्धान अघि बढाउने तयारी छ।
सो अडियो मन्त्री गुप्ताकै हो कि होइन भनेर परीक्षण गर्न लागिएको आयोगका एक अधिकारीले बताए । सो प्रकरणमा मुछिएका अन्य व्यक्तिउपर पनि आयोगले छानविन गरिरहेको छ ।
यही प्रकरणमा मुछिएका भुमी व्यवस्थामन्त्री बलराम अधिकारीमाथि भने छानविन हुन सकेको छैन ।