मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भुक्तानी सेवाप्रदायक संस्थाहरूको लाभांश वितरणमा कडाइ

सञ्चित मुनाफा र नेटवर्थ ऋणात्मक भएका भुक्तानी सेवाप्रदायकले लाभांश वितरण गर्न नपाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o५:oo

मार्गदर्शनको कार्यान्वयनबाट मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई नियमन गर्ने केन्द्रीय बैंकको विश्वास

राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी  मार्गदर्शन, २०८२ जारी गर्दै भुक्तानी सेवाप्रदायक संस्थाहरूको लाभांश वितरणमा कडाइ गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाले आर्जन गरेको मुनाफाको बाँडफाँट तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरेको केन्द्रीय बैंकले जनाएकोे छ ।

लाभांश वितरणका लागि यो मार्गदर्शनमा पूर्वसर्त निर्धारण गरिएको छ । संस्थाको वित्तीय अवस्था सबल हुनुपर्ने विषयलाई प्रमुख पूर्वसर्त राखिएको छ ।  लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको, मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने र सेयर प्रिमियमबाट नगद लाभांश घोषणा गर्न नपाइने व्यवस्था राखिएको छ । सेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्ने पूर्वसर्त पनि छ ।

त्यस्तै, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित सर्तहरूले लाभांश वितरण बन्देज नगरेको हुनुपर्ने उल्लेख छ । केन्द्रीय बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेका संस्थालाई मात्रै लाभांश वितरण गर्न अनुमति दिने उल्लेख छ ।

राष्ट्र बैंकले व्यवस्था गरेका कोषहरूमा रकम छुट्याई बाँकी रहेको सञ्चित मुनाफाबाट भने संस्थाहरूले लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्ने व्यवस्था छ । लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृतिसँगै लाभांश प्रस्तावसमेत समावेश गरी केन्द्रीय बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ ।

भुक्तानी सेवाप्रदायक संस्थाले लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्ने पनि उल्लेख छ । यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ । लाभांश नीतिमा नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद तथा सेयर लाभांश वितरणसम्बन्धी नीति, जोखिम बहन कोष तथा जगेडा कोष उल्लेख गर्नुपर्नेछ । साथै भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने उल्लेख छ ।

यो मार्गदर्शनको कार्यान्वयनबाट मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई नियमन गर्ने केन्द्रीय बैंकको विश्वास छ । त्यस्तै, संस्थालाई नियामकीय पुँजी कायम गर्न आधार निर्माण हुने र कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि स्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने मागदर्शनको उद्देश्य छ ।

 लाभांश वितरणका लागि राष्ट्र बैंकको स्वीकृति लिन यी सर्तहरू पूरा गर्नुपर्छ
संस्थाको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि सञ्चालक समितिको निर्णय, लेखा परीक्षण भएको वित्तीय प्रतिवेदन तथा अघिल्लो आवको कर चुक्ता प्रमाणपत्र, कोषहरूमा रकम छुट्याइएको विवरण, संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण (सम्पूर्ण कागजातसहित निवेदन पेस गर्दा ६ महिना व्यतीत नभएको), बैंक तथा वित्तीय संस्थामा भाका नाघेको कर्जा नभएको, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको र प्रचलित कानुनी व्यवस्थाको पालना भएको हुने व्यहोरासहितको स्वघोषणा उल्लेख गर्नुपर्ने व्यवस्था राखिएको छ ।

लाभांश वितरणका लागि तोकिएका पूर्वसर्त

  • सञ्चित मुनाफा ऋणात्मक नरहेको
  • मुनाफामा भएको वर्ष मात्रै वितरणयोग्य 
  • सेयर प्रिमियमबाट घोषणा गर्न नपाइने 
  • नेटवर्थ ऋणात्मक नरहेको 
  • राष्ट्र बैंकले कैफियत नदेखाएको हुनुपर्ने