मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ श्रावण ५ सोमबार o७:१o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबार ११ महिनायताकै उच्च

२० अर्ब ९६ करोडको कारोबार, बैंक र बलियो कम्पनीको सेयरमा आकर्षण बढेकाले बजार स्थायित्वतर्फ उन्मुख रहेको विश्लेषण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o७:१o:oo

बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटाउन मिल्ने गरी ब्याजदर करिडोरको सीमालाई पनि पुनरावलोकन गर्ने गरी मौद्रिक नीति आएकाले लगानीकर्तामा बढ्यो आत्मविश्वास

आइतबार सेयर बजारमा ११ महिना तीन दिनयताकै उच्च सेयर कारोबार भएको छ । गत वर्ष २ भदौमा २८ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएपछि ओरालो लागेको बजार झन्डै एक वर्षपछि बढेर आइतबार २० अर्ब ९६ करोड रुपैयाँ कारोबार भएको हो । यस क्रममा चार करोड आठ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ९८ करोड ५५ लाख र दोस्रोमा बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।  

राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा सेयर धितो कर्जामा नियामकीय व्यवस्था खुकुलो बनाएपछि सेयर बजारमा उत्साह बढेको छ । २७ असारमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति ल्याउँदै नियामकीय व्यवस्था खुकुलो बनाएर पुँजी बजारमैत्री नीति लिएको सन्देश दिएका थिए ।

उनले १५ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाहको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्‍ याएका थिए । त्यसबाहेक बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटाउन मिल्ने गरी ब्याजदर करिडोरका सीमालाई पनि पुनरावलोकन गरेका थिए । यसको असर देखिन समय लाग्ने भए पनि संवेदनशील मानिने सेयर बजारले तत्काल प्रतिक्रिया जनाएको छ । मौद्रिक नीति सार्वजनिक भएको एक हप्ता बितेपछि आइतबारसम्म नौ दिनमा लगातार (३० असारमा बाहेक) बजार बढिरहेको छ । नेप्सेका अनुसार मौद्रिक नीति आएयता मात्रै बजार १३९.१५ अंकले बढेको छ ।

गत वर्ष २ भदौमा तीन हजार विन्दुमा थियो नेप्से
झन्डै एक वर्षअगाडि नाफा बुक गरेर बाहिरिएका लगानीकर्ता फेरि बजारमा सक्रिय हुन थाले

११ महिना ६ दिनअघि बजार परिसूचक ३०००.८१ विन्दुको उचाइमा पुगेको थियो । त्यसपछि नाफा बुक गरेर बाहिरिएका लगानीकर्ताले लामो समय बजारमा सक्रियता देखाएका थिएनन् । आइतबार परिसूचक २९२२.८४ विन्दुमा पुगेर अन्तिममा २८७०.९५ विन्दुमा बन्द भएको थियो । यसले बजार परिसूचक तीन हजार विन्दुमा पुग्ने सम्भावनालाई संकेत गरेको देखिन्छ ।

 स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले साउनमा कारोबार सुरु भएयता संस्थागत लगानीकर्ताको पनि आकर्षण बढ्न थालेको बताए । उनले बजारमा संस्थागत लगानीकर्ताको बढ्दो उपस्थितिले नेप्सेको वृद्धिदरलाई स्थायित्व दिने संकेत मिलेको उल्लेख गरे । उनले भने, ‘चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा बढाइदियो । ब्याजदर पनि घटाइदिएको छ । यसले लगानीकर्तामा उत्साह बढाएको छ । खासगरी संस्थागत लगानीकर्ताको सक्रियता बढेकाले बजार स्थायी रूपमा अगाडि बढ्ने संकेत मिलेको छ । असारसम्म हिसाब मिलाउन सकस हुन्थ्यो । साउन लागेपछि संस्थागत लगानीकर्तालाई पनि लगानी गर्ने उपयुक्त अवसर हो ।’ 

सेयर मूल्य पनि न्यून दरमा पुगेकाले धेरै लगानीकर्ताले सस्तो मूल्यमा सेयर किन्ने होडले बजारलाई उचालेको समेत उनको विश्लेषण छ । उनले भने, ‘बैंकहरू र राम्रा कम्पनीहरू बढ्न थालेका छन् । अहिलेको वृद्धिदरले बजार स्थायित्वतर्फ उन्मुख हुने लक्षण देखिएको छ ।’

अहिलेको वृद्धिले बजार स्थायित्वतर्फ उन्मुख हुने संकेत देखियो
सागर ढकाल, अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल

मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा बढाइदियो । ब्याजदर पनि घटाइदिएको छ । यस्तो व्यवस्थाले लगानीकर्तामा उत्साह बढेको छ । खासगरी संस्थागत लगानीकर्ताको सक्रियता बढेकाले बजार स्थायी रूपमा अगाडि बढ्ने संकेत मिलेको छ । असारसम्म हिसाब मिलाउन सकस हुन्थ्यो । साउन लागेपछि संस्थागत लगानीकर्तालाई पनि लगानी गर्ने उपयुक्त अवसर हो । सेयर मूल्य पनि न्यून दरमा पुगेको थियो । बैंकहरू र राम्रा कम्पनीहरू बढ्न थालेका छन् । अहिलेको वृद्धिदरले बजार स्थायित्वतर्फ उन्मुख हुने लक्षण देखिएको छ ।

पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि
पछिल्लो १३ दिनमा नेप्से १८७.०९ अंकले वृद्धि

आइतबारको कारोबारमा पाँच कम्पनीको सेयर मूल्यमा उच्च दरको वृद्धि भएको छ । उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर सर्किट ब्रेकर नै लागेको छ । ट्रेड टावरको सेयर मूल्य र शिवश्री हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ९.९८ प्रतिशतले बढेको छ । त्यस्त, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । 

आइतबार बजार परिसूचकमा ठुलो उतारचढाव देखिए पनि अन्तिममा ०.३२ अंकको वृद्धिदरमा रोकिएको थियो । बैंकिङ समूहको परिसूचक १.३८ प्रतिशतले घटेको छ । विकास बैंक समूह ०.०८ प्रतिशत, फाइनान्स २.२६ प्रतिशत, जलविद्युत् समूह ०.४२ प्रतिशत, लगानी समूह ०.१६ प्रतिशत, लगानी तथा प्रशोधन समूह १.१२ प्रतिशत र लघुवित्त समूह ०.०२ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूह १.२४ प्रतिशत, जीवन बिमा समूह १.४ प्रतिशत, सामूहिक लगानी कोष ०.२५ प्रतिशत, निर्जीवन बिमा १.३७ प्रतिशत र अन्य समूह ३.३६ प्रतिशतले बढेको छ । बजार पुँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो १३ दिनको कारोबारमा नेप्से परिसूचक १८७.०९ अंकले बढेको छ । २४ असारमा २६८३.८६ विन्दुमा पुगेको बजार परिसूचक आइतबार २८७०.९५ विन्दुमा पुगेर रोकिएको हो ।