
परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी (यात्रा निर्देशिका) जारी गर्दै इजरायल र इरानमा जटिल परिस्थिति रहेसम्म ती देशमा वैदेशिक रोजगारी, भ्रमण वा अन्य कुनै पनि प्रयोजनले भ्रमण नगर्न अनुरोध गरेको छ । परराष्ट्रले अहिलेको परिस्थिति कायम रहेसम्म मध्यपूर्वका अन्य मुलुकको भ्रमणमा समेत नजान अनुरोध गरेको छ ।
अहिलेसम्म इरान र इजरायलमा रहेका नेपाली सुरक्षित रहेको परराष्ट्रले जनाएको छ । परराष्ट्रले इजरायल र इरानमा रहेका नेपालीका लागि भविष्यमा आवश्यक परेअनुसारको कदम चालिने पनि जनाएको छ । हाल इजरायलमा ५५ सय र इरानमा एक दर्जन नेपाली छन् ।
इजरायल र इरानबाट हवाई उडान बन्द भएको उल्लेख गर्दै परराष्ट्रले स्वदेश फर्किनुपरे तेस्रो मुलुकको बाटो प्रयोग गर्नुपर्ने जानकारी दिएको छ । तेस्रो मुलुक हुँदै स्वदेश फर्किने क्रममा सम्बन्धित देशको ट्रान्जिट भिसा लिन सहजीकरण र प्रयास गर्नेसमेत परराष्ट्रले स्पष्ट पारेको छ ।
यस्तै, परराष्ट्रले आफ्नो सुरक्षामा ध्यान दिई तोकेको स्थानबाहेक घर वा सेल्टरबाट बाहिर ननिस्कन, सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड र जानकारी लिन तथा त्यसको पालना गर्न पनि अनुरोध गरेको छ । नेपाली समुदायबिच र नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रहन पनि परराष्ट्रले अनुरोध गरेको छ ।
यसबाहेक संकट आइपरेमा र उद्धार तथा सहायता आवश्यक परेमा तेलअभिभस्थित नेपाली राजदूतावास, परराष्ट्र मन्त्रालय र कन्सुलर सेवा विभागको अनलाइन लिंकमा आफ्नो विवरण फारम यथाशीघ्र भर्न पनि परराष्ट्रले त्यहाँ रहेका नेपालीसँग आह्वान गरेको छ ।