१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार ११:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा ठगिएका दुई हजारभन्दा बढी पीडित सम्पर्कमा : रास्वपा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार ११:५६:oo

भिजिट भिसाको आवरण भएको मानव तस्करीमा ठगिएका दुई हजारभन्दा बढी पीडित न्यायका लागि सम्पर्कमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । उनीहरूले आफू ठगिएको विवरण उपलब्ध गराउँदै न्यायका लागि पहल गरिदिन अनुरोध गरेको रास्वपाको भनाइ छ । 

‘गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने कृपया प्रमाणसहित सम्पर्कमा आउनुस् भनेर आह्वान गरेर अभियान चलाएका थियौँ । त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट दुई हजारभन्दा धेरै पीडित नागरिक सम्पर्कमा आउनुभयो,’ रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तीमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आएको रास्वपाले जनाएको छ । ‘हामीले उहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगलगायतमा उजुरी दिन सुझाएका हौँ । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता झाले ‘रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन’ भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने खबरमा सत्यता नभएको पनि उल्लेख गरेका छन् । विज्ञप्तिमा रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोस्टमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृंखला मानेको उल्लेख छ । ‘सांसद श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत छ । यस प्रकारको व्यवहारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रोत्साहन गर्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, पार्टीमा आबद्ध कोही व्यक्ति भए–नभएकोबारे सत्य–तथ्य पत्ता लगाउन सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा वरिष्ठ अधिवक्ता नारायण घिमिरे र पूर्वएसएसपी लव विष्ट सदस्य रहेको समिति गठन गरिएको छ । रास्वपाले समस्याको निराकरण र संलग्नलाई कानुनी कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामा मागेर आन्दोलन गरिरहेको पनि स्मरण गराएको छ । ‘हामी भिजिट भिसा र मानव तस्करीको संगठित अपराधको विरुद्ध आन्दोलन गर्दै छौँ । हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन,’ विज्ञप्तिमा छ, ‘कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि होइन ।’