१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

यसकारण गृहमन्त्रीमाथि अनुसन्धान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १२:oo:oo

- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मातहतका कर्मचारीमाथि अनुसन्धान गर्दैमा मन्त्रीले राजीनामा दिनु नपर्ने र त्यस्तो नजिर पनि नभएको दाबी गर्दै गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा पद नछाड्ने अड्डी कसेका छन् । तर, यो प्रकरणमा एउटा कर्मचारी मात्र नभई सिंगो अध्यागमन र त्यसलाई संरक्षण गर्ने गृह प्रशासनमाथि नै अनुसन्धान भइरहेको अख्तियारका अधिकारी बताउँछन् । 

- अहिलेसम्मको अनुसन्धानमा गृहमन्त्री लेखकको संलग्नताको अकाट्य प्रमाण नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारले उनको संरक्षण र मिलेमतो देखिने अख्तियार स्रोत बताउँछ । हाल अनुसन्धानको केन्द्रमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई लेखकले नै रोजेर गत असोजमा विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिएका थिए । उनी गएपछि भिजिट भिसामा असुली मात्र बढेन, ‘मोस्ट वान्टेड’सहितका शंकास्पद भारतीयलाई समेत उडाउने क्रम बढेको थियो ।

- यस विषयमा अख्तियारले बारम्बार पत्र लेख्दा पनि गृह मन्त्रालय नेतृत्वले छानबिनमा चासो नै दिएको थिएन । बरु चलखेलका आधारमा अध्यागमनमा दरबन्दीभन्दा धेरै कर्मचारी थुपार्‍यो । यसरी  केही कर्मचारी त गृहमन्त्रीको सचिवालयकै ठाडो निर्देशनमा पठाइएको स्रोत बताउँछ ।

- भिजिट भिसामा मानव तस्करी बढेको भनेर नेपाल प्रहरी नेतृत्वले ब्रिफिङ गर्दा पनि गृहमन्त्री लेखकले सुधारमा कुनै चासो देखाएका थिएनन् । गत ३ पुसमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली विमानस्थलमा खटाइएकोमा गृहकै निर्देशनमा एकै दिनमा फिर्ता गरिएको थियो ।

- बेथिति चरम भएपछि अख्तियारले ‘अन्डर कभर अप्रेसन’ चलाई पैसासहित सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गर्ने तयारी गरेको पूर्वसूचना पाएपछि गृहमन्त्री लेखकले रातारात उनलाई सरुवा गरेका थिए । सरुवा गरेकै दिन गत ७ जेठमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।

- आयोगको करिब एक महिना लामो अनुसन्धानमा सिंगो अध्यागमन प्रशासनकै मिलेमतोमा भिजिट भिसाको असुली चलेको देखिएको छ । अध्यागमनको ‘फ्रन्ट डेस्क’मा बस्ने कर्मचारीलाई पनि आयोगले बयानमा बोलाउने तयारी गरेको छ ।

- सहसचिव भट्टराईले भिजिट भिसाको सेटिङकै लागि गोप्य मोबाइलसमेत बोकेका थिए । ती मोबाइलमा भएका कुराकानी तथा डायरीमा लेखिएका विवरणका आधारमा अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ । जसमा गृहका अधिकारीसँग पनि शंकास्पद संवाद भेटिएका छन् ।

- विगतमा भिजिट भिसाको गिरोह चलाएकै आरोपमा प्रहरीले मुद्दा दायर गरेका अधिकृत विमल पौडेललाई मन्त्री लेखकले आफ्नो सचिवालयमा राखेका थिए । यो विषय बाहिर आएपछि पुरानो मिति राखेर उनको सरुवा गर्नुले पनि यस प्रकरणमा गृहमन्त्रीको सचिवालयको भूमिका शंकास्पद देखिन्छ ।

- गृहमन्त्री लेखकले अख्तियारमा कार्यरत डिआइजी हिमालय श्रेष्ठलाई हठात् सरुवा गर्नुुले पनि उनको ‘नियत’माथि प्रश्न उठेको छ । यद्यपि, चौतर्फी आलोचनापछि केही घण्टामै सरुवा रद्द गरियो ।

- यो प्रकरणमा पछिल्लो समय प्रहरीले समेत अनुसन्धान गरिरहेको छ । मानव तस्करी, ठगी तथा नक्कली कागजपत्रका विषयमा प्रहरीमार्फत अख्तियारले अनुसन्धान गराइरहेको छ ।