१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार o५:५३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मनसुन सक्रिय, देशभर वर्षा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार o५:५३:oo
  • देशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा कतिपय क्षेत्रमा भारी वर्षा भए पनि अहिले अत्यधिक वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ

असार लागेसँगै देशभर वर्षा सुरु भएको छ । लामो समयसम्म खडेरीबाट गुज्रिएको मध्य तराईमा पनि बुधबार वर्षा भएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा कतिपय क्षेत्रमा भारी वर्षा भए पनि अहिले अत्यधिक वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

गत २४ घण्टामा डोटी, डडेल्धुरा, कैलाली, नवलपरासी र चितवनमा सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा मात्र भए पनि मध्य क्षेत्र र पश्चिममा मध्यमदेखि भारी वर्षा भएको मौसम विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले पछिल्लो वर्षाले पोहोरको बर्खाले क्षति गरेको र निर्माणाधीन सडकमा समस्या भएको बताए । ‘देशभर वर्षा हुन थालेको छ । बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रले सहयोग गरिरहेको हो,’ झाले भने, ‘समयमै वर्षा हुँदा रोपाइँ गर्न सजिलो भएको छ । तर, पोहोरको बर्खाले क्षति गरेको र निर्माणाधीन सडकमा भने समस्या निम्त्याइरहेको छ ।’ 

वर्षासँगै देशका विभिन्न भागमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको कोदारी, लार्चा र कोल्याङ खण्डमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । यस्तै, डोल्पाको चुलेलगाउँ र दार्चुलाको महाकाली नगरपालिकामा समेत सडक अवरुद्ध भएको छ ।

अत्यधिक वर्षाको सम्भावना रहेमा मौसम विज्ञान विभागले पाँच दिनअघि नै बुलेटिन जारी गरेर जोखिमयुक्त स्थानलाई रेडअलर्टमा राख्ने गरेको छ । सरकारले पनि रेडअलर्टमा परेका क्षेत्रमा रात्रिकालीन यातायात गुडाउनमा गत वर्षदेखि नै रोक लगाउने अभ्यास थालिसकेको छ ।  

कर्णाली र सुदूरपश्चिममा अझै पुगेन मनसुन
नेपालमा मनसुन प्रवेश गरेको २१ दिन नाघ्दा पनि अझै लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिममा पुगेको छैन । सरदरभन्दा दुई साताअघि १५ जेठमा कोशी प्रदेश प्रवेश गरेको मनसुन २९ जेठमा पश्चिममा गण्डकी र लुम्बिनीको पूर्वी भूभागससम्म पुगेको थियो । तर, त्यसभन्दा पश्चिम क्षेत्रमा पश्चिमी र स्थानीय वायु सक्रिय नै रहेकाले मनसुन अगाडि बढ्न नसकेको मौसमविद् गोविन्द झाले बताए । ‘मनसुनी वायु नपुगे पनि कर्णाली र सुदूरपश्चिममा पानी परिरहेकै छ, त्यहाँ पश्चिमी र स्थानीय वायु सक्रिय छ,’ महाशाखाका मौसमविद् झाले भने, ‘अब केही दिनमा देशभर मनसुन पुग्छ ।’ 

भोटेकोशी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा 
सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्र (भोटेकोशी) क्षेत्रमा पनि मनसुनको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले बताइन् । यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले पहिरो र ससाना खोलामा बाढीको जोखिम छ । तर, स्थान नै तोकेर अलर्ट जारी गर्नुपर्ने अवस्था नरहेको पोखरेलले बताइन् ।

सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गर्दै छिमेकी चीन स्वशासित तिब्बतमा बुधबारदेखि सात दिनसम्म अत्यधिक वर्षा हुने भन्दै भोटेकोशी तटीय क्षेत्रको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका स्थानीयलाई सूचना जारी गरेर सचेत गराएको थियो ।

हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको सबैमा जानकारी गराएको छ । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र माथिल्लो जलाधार (भोटेकोशीसहित) क्षेत्रमा ठुलो वर्षाको सम्भावना नरहेको बताएको छ ।

मौसम विभागले बुधबार साँझ विज्ञप्ति जारी गरेर ‘भूउपग्रह तथा मौसम प्रारूपबाट प्राप्त तथ्यांक तथा सूचनाको हालको विश्लेषणका आधारमा सिन्धुपाल्चोक र सोको माथिल्लो जलाधार क्षेत्रमा हाल मनसुनको प्रभाव भए पनि कमजोर अवस्थामा रहेकाले हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनेको छ ।

जाङ्मुपोर्टस्थित अध्यागमन कार्यालयका अधिकारीले नेपालतर्फ सीमा सुरक्षार्थ रहेका सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक जानकारी पाएको भन्दै प्रशासनले बाढीबाट हुने सम्भावित जोखिमबाट बच्न भनेको थियो । ‘बर्खामा बाढीपहिरोको जोखिम त हुन्छ नै सतर्कता अपनाउनुपर्छ । तर, स्थान विशेषलाई तोकेर सूचना निकाल्नुपर्ने अवस्था देखिँदैन,’ मौसमविद् झाले बताए । 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ पक्षले दिएको पूर्वसूचनाका आधारमा तयारी गरिएको बताए । ‘चिनियाँ प्रहरीले सीमामा सशस्त्र प्रहरीलाई दिएको सूचना हो । यही आधारमा हामीले सूचना जारी गरेका हौँ,’ उनले भने, ‘मौसम भनेकै अनुमान हो । मौसमविद्हरूले गरेको पूर्वानुमान कुनै वेला नमिल्न पनि सक्छ । जे–जे भए पनि भोटेकोशीमा बाढी आइरहेको छ । सबैलाई सुरक्षित रहन अनुरोध गरेका छौँ ।’

चीनको मौसम केन्द्रले के भन्छ ?
चीनको मौसम केन्द्रले मंगलबार बुलेटिन जारी गर्दै दक्षिणपश्चिम मनसुन (बर्खायाममा दक्षिण एसियामा सक्रिय रहने मनसुन) सक्रिय हुने उल्लेख गरेको छ । तर, उसले पनि विश्व मौसम संगठनको बेइजिङ केन्द्रलाई उद्धृत गरेर दक्षिणपश्चिम मनसुन र उष्णकटिबंधीयको प्रभावमा पश्चिमी र उत्तरपूर्वी भारतका केही भाग, दक्षिणपश्चिमी श्रीलंका, उत्तरी बंगलादेश साथै पश्चिमी र दक्षिणी म्यानमार र दक्षिणपश्चिमी थाइल्यान्डमा भारीदेखि मुसलधारे वर्षाको अनुमान रहेको भनेको छ । तर, यो बुलेटिनमा नेपाल वा चीनको तिब्बतबारे पनि उल्लेख छैन । नेपालसहित दक्षिण एसियाली मुलुकमा वार्षिक वर्षाको सबैभन्दा धेरै पानी दक्षिण एसियाली मनसुनले पार्छ  ।