१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार ११:o९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चीनको प्रारम्भिक प्रतिवेदनले भन्छ– दैलेखमै छ नेपाललाई ५० वर्ष पुग्न सक्ने मिथेन ग्यास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार ११:o९:oo

दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्यअन्तर्गत गरिएको ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्भे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ । दैलेखको एउटा खण्ड जलजलेमा गरिएको अन्वेषणको प्रतिवेदनसँगै दैलेखका अन्य तीनवटा स्थानमा पनि मिथेन ग्यास रहेको र जुन ग्यासले नेपाललाई ५० वर्षसम्म पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार ०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्यास भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्ने गरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठुलो टेवा पुर्‍याउने आशा गरिएको उद्योगमन्त्री दामोदर भण्डारीले बताए । भण्डारीले भने, ‘ड्रिलिङका वेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो, अहिले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई प्राप्त भइसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी ओलीले २०१६ मा चीन सरकारसँग जिटुजी सम्झौता गरी गौरवको आयोजनाको रूपमा लिनुभएको यो आयोजनालाई जसरी सरकारको प्राथमिकतामा राखेर काम गर्‍यो, सोहीअनुसार चिनियाँ कम्पनीले पनि द्रुत गतिमा काम अगाडि बढायो, प्रारम्भिक प्रतिवेदनले आमनेपालीको भविष्य सुन्दर हुन सक्ने आशा गरिएको छ । पहिलो भण्डारण कुवामा प्रारम्भिक एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको भेटिएको छ, अन्य तीनवटा ग्यास भण्डारणका कुवाहरू पनि दैलेखमै रहेका र जम्मा चारवटा कुवामा करिब चार सय ३० अर्ब घनमिटर मिथेन ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सरकार निकै उत्साहित भएको छ । यसको सबैभन्दा धेरै श्रेय सम्माननीय प्रधानमन्त्री केपी ओलीलाई जान्छ ।’

योसँगै अब दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा राखेको मन्त्री भण्डारीको भनाइ छ । सरकारले डिसेम्बरभित्र उत्पादन सुरु गर्ने गरी तयारी थालेको छ । करिब ६५ करोड लागतमा उत्पादन परीक्षण सम्पन्न हुने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सोहीअनुसार काम अगाडि बढाउने सरकारको तयारी रहेको भण्डारीले बताए । 

पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना प्रमुख दिनेशकुमार नापितले भने, ‘नेपाल सरकार र चीन सरकारबिच २०१९ मा जिटुजी भएसँगै काम अगाडि बढेको थियो, धेरैखाले अध्ययनका कार्यक्रम सम्पन्न गरेर अहिले प्रारम्भिक नजिता आएको छ । नेपाल सरकारले दैलेखको जलजलेमा ४५ रोपनी जग्गा अतिक्रमण गरेर काम थालेको हो । नेपालका लागि अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययनको रूपमा लिइएको यो परियोजनाले केही आशा जगाएको छ । प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्यास देखिएको र यसको परीक्षण उत्पादन सुरु गरेर ग्यासको प्रकृति, व्यावसायिक उत्पादनका कामहरू अब सुरु हुनेछन्। चीनको जिओलोजिकल सर्भे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्नपश्चात् डिसेम्बरभित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्नपछि यसको वास्तविक तथ्य बाहिर आउनेछ । 

प्रारम्भिक प्रतिवेदनमा आएको कुराले नेपालको समृद्धिको आधार स्तम्भ दैलेख हुन सक्ने आशा पलाएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा सम्झौता भएको यो परियोजना वर्तमानमा पनि ओली प्रधानमन्त्री भएकै वेलामा देशको मुहार फेरिने आशा गरेको थापाले बताए ।