१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ५ बिहीबार १o:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला एसिया कप छनोटको तयारीमा जुट्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १o:५२:oo

नेपाली महिला फुटबल टोली एसियन कपको छनोट प्रतियोगिताको तयारीमा जुटेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेल्जियन प्याट्रिक डी वाइल्डलाई टोलीको जिम्मेवारी दिएपछि महिला खेलाडीले प्रशिक्षण थालेका हुन् । प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिकले नेपाललाई समूह ‘एफ’बाट एसिया कपमा पुर्‍याउने लक्ष्य राखेका छन् । एसिया कपको छनोट २९ जुनदेखि उज्वेकिस्तानमा हुनेछ ।

नेपालको समूहमा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले २९ जुनमा लाओससँग प्रतिस्पर्धा गर्नेछ । छनोट चरणमा सहभागी राष्ट्र आफ्नो समूहमा विजेता हुँदा अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा प्रतिस्पर्धा गर्न अवसर पाउनेछ । प्रशिक्षक प्याट्रिकले दशरथ रंगशालामा खेलाडीलाई प्रशिक्षण दिएको एन्फाले जनाएको छ । ‘नेपाली महिला टोलीले फुल स्पिरिटमा प्रशिक्षण गरिरहेको छ,’ एन्फाले भनेको छ ।

प्याट्रिकलाई राजेन्द्र तामाङ, भगवती थापा र सुरज लामाले सहयोग गरिरहेका छन् । यसअघि तामाङले नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए । फिफा र एएफसीले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न प्रो–लाइसेन्स अनिवार्य गरेको छ । एन्फामा उपलब्ध प्रशिक्षकहरूसँग प्रो–लाइसेन्स छैनन् । यसकारण, एन्फाले प्रो–लाइसेन्स भएका विदेशी प्रशिक्षकलाई नियुक्त गरेको हो ।

एसिया कपको तयारीका लागि विभिन्न राष्ट्रमा लिग खेलिरहेका नेपालका चर्चित खेलाडी पनि प्रशिक्षणमा सहभागी भएका छन् । अबुधाबी काउन्टी क्लबमा आबद्ध स्ट्राइकर रेखा पौडेल, फ्रान्सको लिग वानमा आबद्ध सावित्री भण्डारी र ग्रिसको लिग खेलिरहेकी गोलरक्षक अन्जिला तुम्बापो पनि प्रशिक्षणमा संलग्न रहेको एन्फाले जनाएको छ । यसैगरी, भुटानमा लिग खेल्न पुगेकी पूजा राना पनि नेपाल फर्किसकेकी छिन् । पौडेल आबद्ध क्लबले गत साता लिग उपाधि हात पारेको थियो ।

नेपालले एसिया कपको तयारीस्वरूपमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्यो । दुईपटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिता खेलेको थाइल्यान्डसँग नेपाल २–० ले पराजित भएको थियो । नेपाली खेलाडी आफूभन्दा माथिल्लोस्तरको टोलीसँग प्रतिस्पर्धा गर्दै अनुभवप्राप्त गरेका थिए ।