
नेपाल त्रिकोणात्मक टी–२० आईमा नेदरल्यान्ड्ससँग तेस्रो सुपरर ओभरमा पराजित भएको छ । स्कटल्यान्डकै मैदानमा सोमबार भएको सिरिजअन्तर्गत दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा १५२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । यसअघि निर्धारित २० ओभरमा नेपालले १५३ रन पछ्याएको थियो । इनिङ्सको १९औँ ओभरमा कप्तान रोहित पौडेल क्याचआउट भएका थिए । ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ४८ रनको योगदान दिए । अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन आवश्यक थियो ।
नन्दन यादवले अन्तिम बलमा चौका प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए । निर्धारित ओभरमा सन्दीप लामिछानेले चार ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । नन्दनले २.५ ओभरमा १८ रन दिँदै दुई विकेट हात पारे । नेदरल्यान्ड्सका ड्यानिल डोरामले चार ओभरमा कसिलो बलिङ गरी १४ रन खर्चेर तीन विकेट लिँदा नेपालको ब्याटिङ कमजोर देखिएको थियो ।
पहिलो सुपर ओभर
पहिलो सुपर ओभरमा नेदरल्यान्ड्सका बायाँ हाते स्पिनर ड्यानिएल डोरमले बलिङ गरेका थिए । नेपालका ओपनर कुशल भुर्तेलले दुई छक्कासहित १९ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरेका थिए । करण केसीले फ्याँकेको पाँचौँ बलमा म्याक्स ओ डाउडले छक्का प्रहार गरेपछि अन्तिम बलमा नेदरल्यान्ड्सलाई पाँच रन आवश्यक थियो । म्याक्सले अन्तिम बललाई चौका प्रहार गरेपछि खेल अर्को सुपर ओभरमा पुग्यो ।
दोस्रो सुपर ओभर
नेपालका स्पिनर ललित राजवंशीले दोस्रो सुपर ओभरमा बलिङ गरेका थिए । नेदरल्यान्ड्सले ललितको ओभरमा १७ रन बटुल्यो । १८ रन पछ्याएको नेपालका कप्तान रोहित नेदरल्यान्ड्सका काइल क्लाइनको पहिलो बलमै छक्का प्रहार गरे । क्लाइनको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे । दीपेन्द्रसिंहले अन्तिम बलमा छक्का प्रहार गरेपछि खेल तेस्रो सुपर ओभर पुग्यो ।
तेस्रो सुपर ओभर
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको तेस्रो सुपर ओभरमा नेपालले ब्याटिङ गर्यो । नेदरल्यान्डबाट ज्याक लायनले बलिङ गरे । उनले आफ्नो पहिलो बलमा कप्तान रोहितलाई क्याचआउट गराए । त्यसपछि डेब्यु गरेका रूपेश सिंह क्रिजमा आए । उनले लगातार दुई बल डट खेले ।
उनी चौथो बलमा क्याचआउट हुँदा नेपालले स्कोर बोर्डमा एक रन पनि बनाउन सकेन । नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमै छक्का प्रहार गर्दै सनसनी जित निकाले ।
नेपालको सय अन्तर्राष्ट्रिय खेल
नेपाली क्रिकेट टोलीले आफ्नो एक सय टी–२० अन्तर्राष्ट्रिय खेल पूरा गरेको छ । स्कटल्यान्डमा चलिरहेको त्रिकोणात्मक टी–२०आईमा सोमबार नेपालले नेदरल्यान्ड्सको सामना गर्र्दै एक सय खेल पूरा गरेको हो । सन् २०१४ मा नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत हङकङविरुद्ध अन्तर्राष्ट्रियमा डेब्यु गरेको थियो । नेपालले अहिलेसम्म ५५ जित र ४० खेलमा हारको सामना गरेको छ । नेपालले दुई खेल टाई तथा तीन खेल नतिजाविहीन हात पारेको थियो ।
टी–२०आईमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी सर्वाधिक रन बनाउने क्रिकेटर हुन् । पूर्वकप्तान सन्दीप टी–२०आईमा धेरै विकेट लिने नेपाली बलर हुन् । उनले १०९ खेलमा १११ विकेट हात पारेका छन् । करण केसीले आफ्नो सय विकेट पूरा गर्न सकेनन् । नेदरल्यान्ड्सविरुद्धको खेलमा उनी विकेटविहीन भए । उनको नाममा ९९ विकेट रहेको छ ।
नेपालको टी–२०आईमा ठुलो योगफल ३१४ रनको हो । नेपालले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियाडमा नेपालले मंगोलियाविरुद्ध सो योगफल तयार पारेको थियो । त्यसवेला टी–२०आईमा तीन सय रनको योगफल पार गर्ने राष्ट्र नेपाल मात्र थियो । नेपालको यो रेकर्ड जिम्बावेले तोडेको थियो । मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रसिंहले केवल नौ बलमा ५० रन जोड्दै विश्व कीर्तिमान बनाएका थिए । उनको यो रेकर्ड अहिलेसम्म तोडिएको छैन ।
सन् २०१९ मा नेपालका पूर्वकप्तान पारस खड्काले सिंगापुरविरुद्ध टी–२० अन्तर्राष्ट्रियस्तरमा शतक बनाएका थिए । ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्लले टी–२०आईमा शतकीय इनिङ्स खेलेका छन् । नेपालको टी–२०आईमा कम योगफल ५३ रन हो । सन् २०१५ मा विश्वकप छनोटमा नेपालले आयरल्यान्डविरुद्ध खराब रेकर्ड राखेको थियो । दीपेन्द्रसिंह टी–२०आईमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने एक मात्र नेपाली ब्याट्सम्यान हुन् ।