१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २ सोमबार ११:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा अल बिदा लेखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार ११:४५:oo

सामाजिक सञ्जालमा अल बिदा लेखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका छन्। जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौँडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन्। डेढ घण्टाअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। उनी असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौँडा सरुवा भएका थिए।

उनी रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा थिए । उनले २५ महिना अस्पतालमा काम गरेको र त्यसमध्ये १८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको बताएका छन् । उनले रामेछाप– ८ का पूर्ववडाध्यक्ष केदार कार्कीले अनुचित दबाब र धम्की दिने गरेकोलगायत आरोपसमेत लगाएका छन्।

‘करिब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिटेन्डेन्ट भएर चलाउने मौका पाएँ। दिनरात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागेँ। म प्रमुख भएपछि काम चोर्ने, ठग्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो, डा. गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरोविरुद्धमा लगाई नै राख्यो, तर मैले डटेर नै काम गरेँ । एउटा व्यवस्थित अस्पताल बनाएँ पनि ।  केदार कार्कीले रामेछाप– ८ मागेको पैसा नदिँदा अनि उसले भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा उसको नेतृत्वमा मैले कारबाही, स्पष्टीकरण सोधेका तीनजना डाक्टर अनि अरू दुईजना महिला डाक्टरलाई प्रयोग गरेर अहिले मलाई विभिन्न झुटा आरोप लगाएर मेरो सरुवा गराए,’ डा. श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘एप्रन किन नलगाएको भनेर एकजना डाक्टरलाई प्रश्न मात्र गरेको थिएँ, ममाथि मुखमुखै  लागेर त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्कायाे र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अध्यक्षज्यूको अगाडि, तीन दिनमा तेरो सरुवा गरिनँ भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिँड्यो ।’

डा. श्रेष्ठको विषयमा जिल्ला प्रहरी कार्यालय रामछाप र काठमाडौंको टोलीले खोजी कार्य अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले श्रेष्ठको मोबाइल अफ भएको र लोकेन ट्रयाक गर्दा काठमाडौंको चाबहिलमा देखिएकाले काठमाडौं परिसरको प्रहरीले खोजीकार्य अघि बढाएको बताए । ‘उहाँले रामेछापमा बसेर काम गर्दाको विषयलाई लिएर सामाजिक सञ्जालमा लेख्नुभएको रहेछ, हामीले त्यसबारे थप अनुसन्धान थालेका छौँ,’ उनले भने ।