
त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दै छ । स्कटल्यान्डको टिटउट रंगशालामा हुने नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समयअनुसार राति ७:४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ ।
हिजोको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलोपटक हो ।
त्यसैगरी, स्कटल्यान्ड भने प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई ३९ रनले पराजित गरेको थियो । नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलोेपटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो ।
त्यसअघि सन् २०१३ मा भएको आइसिसी विश्वकप क्वालिफाएरअन्तर्गत भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।