१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार १o:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिकोणात्मक टी–२० आई सिरिज : नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १o:५४:oo

आइसिसी विश्वकप लिग २ अन्तर्गत चौथो सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सोमबार नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक टी–२० आईमा प्रतिस्पर्धा गर्दै छ । विश्वकप लिग २ मा नेपालले दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । लिग २ मा नेपालले आठमध्ये ६ अंक बटुल्यो । ब्याटिङ, बलिङ र फिल्डिङमा चुस्त प्रदर्शन गरेको नेपालले टी–२० आई सिरिजमा पनि त्यसलाई निरन्तरता दिने योजना छ ।

स्कटल्यान्डसमेत सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले खेलाडी परिवर्तन गरेको छैन । यद्यपि, चोटका कारण नेपालले महत्वपूर्ण दुई खेलाडी गुमाइसकेको छ । फास्ट बलर सोमपाल कामी र गुल्सन झाले स्कटल्यान्डका सबै खेल गुमाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको प्रतिस्पर्धामा किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंहलाई समावेश गरेको छ । किरण र लोकेश टी–२० फम्र्याटमा आक्रामक ब्याटिङ गर्छन् । 

नेपालले २०१४ मा आफ्नो पहिलो टी–२० आई खेलेको थियो । बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकपमा हङकङसँगको खेल नै नेपालको पहिलो टी–२० आई थियो । नेपालले अन्तिमपटक १३ अप्रिल २०२५ मा कुवेतविरुद्ध खेलेको थियो । दुई महिनापछि नेपालले टी–२० आई खेल्न लागेको हो । नेपालले अहिलेसम्म ९९ टी–२० आई खेलेको छ, जसमा ५५ जित र ३९ हारको सामना गरेको छ । नेपालले दुईपटक आइससी टी–२० विश्वकप खेलेको छ । 

टी–२० मा अनुभवी नेदरल्यान्ड्स
नेपालको तुलनामा नेदरल्यान्ड्स अनुभवी राष्ट्र हो । नेदरल्यान्ड्सले २ अगस्ट २००८ मै केन्याविरुद्ध आफ्नो पहिलो टी–२० आई खेलेको थियो । १५ नोभेम्बर २०२४ मा उसले अन्तिमपटक ओमानसँग प्रतिस्पर्धा गरेको थियो । आठ महिनापछि नेदरल्यान्ड्सले टी–२० आई खेल्न लागेको हो । अहिलेसम्म नेदरल्यान्ड्सले ११८ टी–२० आई खेल्दा ५९ जित र ५३ खेलमा हार सामना गरेको छ । टी–२० विश्वकपमा नेदरल्यान्ड्सले ६ पटक प्रतिस्पर्धा गरेको छ । सन् २०१० को संस्करणमा नेदरल्यान्ड्स सुपर १० सम्म पुगेको थियो ।