
अर्थमन्त्री विष्णु पौडेलले जलविद्युतमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न ‘टेक एन्ड पे’को व्यवस्था गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा ‘टेक एन्ड पे’बारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउन खोजिएको भन्दै यस विषयमा चिन्ता नलिन आग्रह गरे।
निजी क्षेत्रलाई विद्युत् उत्पादन र व्यापार गर्न खुला गर्ने गरी विद्युत् विधेयक सदनमा विचाराधीन रहेको उल्लेख गर्दै उनले भने, ‘यो विधेयक पारित भएसँगै विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुन्छ। यस विषयलाई थप चिन्ताको रूपमा नलिन आग्रह गर्न चाहन्छु।’
विधेयक पारित भएपछि निजी क्षेत्रले विद्युत् प्राधिकरणलाई मात्रै विद्युत् बिक्री गर्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।
‘विद्युत् उत्पादनको क्षेत्रमा निजी क्षेत्रले जुन प्रकारको लगानी गरिरहेको छ, यो लगानीलाई निरुत्साहित गर्ने सरकारको सोच, नीति वा प्रयास होइन। हामी विद्युत् उत्पादनको क्षेत्रमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्न, प्रवर्द्धन गर्न चाहन्छौँ,’ अर्थमन्त्री पौडेलले भने।