
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले उद्देश्यअनुसार काम गर्न नसकेको बताएका छन्।
आज सोमबार नवलपुरको कावासोतीमा एघारौँ चुरे संरक्षण दिवसको अवसरमा कावासोतीको ज्योतिकुञ्ज सामुदायिक वनमा आयोजित वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले उद्देश्यअनुरूपका उपलब्धि हासिल भए/नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको उल्लेख गरे। चुरे संरक्षणको नाममा खोला तथा नदीहरू नदीजन्य वस्तुले पुरिएर खोलाले बाटो फेर्ने अवस्था आउँदासम्म पनि नदीजन्य वस्तु निकाल्न नदिनु उपयुक्त नहुने उनको भनाइ छ।
‘अहिले चुरेको महत्त्वपूर्ण समस्या के पनि छ भने माथिबाट गिटी बालुवा बगेर ल्याउँछ खोला, नदी बग्ने बाटो भरिन्छ। खोलाको बाटो पुरेपछि त्यो खोला गाउँ र उर्वर भूमितिर हिँड्छ अनि गाउँ र उर्भरभूमि मरुभूमिमा परिवर्तन हुन्छ,’ पौडेलले भने।
उनले खोलाबाट आवश्यकता हेरी नदीजन्य वस्तु निकासी गरेर खोलालाई आफ्नो बाटोमा हिँड्न दिने र नदीजन्य वस्तु आवश्यक परेको ठाउँमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले चुरेसँग जोडिएका खोला तथा नदीहरूमा तटबन्धनको उचित व्यवस्थापन नहुँदा खोलाले किनारामा बस्ने बासिन्दाहरू बाढीका कारण सुकुम्बासीमा परिणत हुनुपर्ने अवस्था भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
उक्त क्षेत्रमा वन तथा पर्यावरण सुरक्षागण कावासोती हात्तीखोरले १० हजार बिरुवा रोपेर तीन वर्षपछि सामुदायिक वनलाई हस्तान्तरण गर्नेछ।