१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार o९:३९:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

हिरासतबाटै दुतेर्तेको विजय र यसले निम्त्याउने चुनौती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार o९:३९:oo
  • मेयर पदमा निर्वाचित ८० वर्षीय दुतेर्ते मानवताविरुद्ध अपराधको आरोपमा मनिलाबाट हजारौँ माइल टाढा रहेको हेगस्थित कारागारमा मुद्दा खेपिरहेका छन्

फिलिपिनी मतदाताले देशका पूर्वराष्ट्रपति रोद्रिगो दुतेर्तेलाई भारी मत दिएर उनको गृहनगर दाभाओमा मेयरका रूपमा चुनेका छन् । दुतेर्ते परिवारको राजनीतिक गढ दाभाओमा पछिल्लो २० वर्षदेखि एक वा अर्को दुतेर्ते परिवारका सदस्य मेयर रहँदै आएका छन् । धेरैले पहिले नै दुतेर्तेले सहज रूपमा जित्ने प्रक्षेपण गरेका थिए । तथापि, यसपटक पूर्वराष्ट्रपतिको जितले एक नयाँ समस्या निम्त्याउने देखिएको छ । 

मेयर पदमा निर्वाचित दुतेर्ते मानवताविरुद्धको अपराधको आरोपमा मुद्दा खेप्न हजारौँ माइल टाढा जेलमा छन् । हेगस्थित ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)’ का अभियोजकले ८० वर्षीय राजनीतिज्ञ दुतेर्तेलाई लागुऔषध प्रयोगकर्ताविरुद्धको क्रूर कारबाही सञ्चालन गरेको आरोपमा मुद्दा चलाइरहेका छन् । सो कारबाहीका क्रममा हजारौँ फिलिपिनी नागरिक कुनै अनुसन्धान नगरी गैरन्यायिक रूपमा मारिएका थिए । मारिनेमा धेरै निर्दोष मानिस परेको आरोप छ । दुतेर्तेले आफ्नो राष्ट्रपतिकालमा भएको यस खुलेआम दमनप्रति गर्व गरे पनि मानव अधिकार उल्लंघनको आरोपलाई भने अस्वीकार गर्दै आएका छन् । उनले बारम्बार विदेशी अदालतसामु नझुक्ने दोहोर्‍याउँदै आएका छन् । 

आइसिसीमा दुतेर्तेको अर्को सुनुवाइ सेप्टेम्बरमा छ । तर, त्यसअघि पर्ने दुतेर्तेको पदको शपथ के हुने भन्ने निश्चित छैन । उनलाई अदालतले शपथ ग्रहण गर्न अनुमति दिलाउन आइसिसी र उनका वकिलबिच अलग कानुनी लडाइँ सुरु हुन सक्छ । फिलिपिन्सभित्र दुतेर्तेले प्रतिनिधिमार्फत वा भिडियो कलबाट शपथ लिन सक्ने विकल्पमाथि बहस भइरहेको छ । तर, कारागारमा रहेका भिडियो कलका लागि आइसिसीले अनुमति दिनुपर्ने विज्ञहरू बत(ाउँछन् । आइसिसीका अभियुक्तका रूपमा दुतेर्तेलाई परिवारसँग फोन कल गर्ने छुट भए पनि इन्टरनेट चलाउन दिइएको छैन ।

यदि दुतेर्तेले कसैगरी मेयर पदको शपथ ग्रहण गर्ने अनुमति पाए भने हिरासत केन्द्रबाट उनले आफ्नो पदअनुरूप निभाउनुपर्ने जिम्मेवारी कसरी निभाउँछन् ? यसको पनि विकल्प छ । फिलिपिन्सको कानुनअनुसार मेयरको अनुपस्थितिमा उपमेयरले दैनिक कर्तव्य पूरा गर्न सक्छन् । र, दाभाओ सहरको उपमेयरमा दुतेर्तेका कान्छो छोरा सेब्यास्टियन दुतेर्ते निर्वाचित भएका छन् । 

दुतेर्ते लामो समयदेखि फिलिपिन्समा एक शक्तिशाली तर विभाजनकारी व्यक्तित्व रहँदै आएका छन् । सन् २०१६ मा राष्ट्रपति बन्नुअघि उनी दुई दशकभन्दा बढी समयसम्म दाभाओ सहरका मेयर थिए । कट्टर समर्थक सहरको कानुन–व्यवस्थाका लागि दुतेर्तेलाई श्रेय दिन्छन् । त्यस्तै, दुतेर्तेको पछिल्लो जितलाई समर्थकले सरकारी कदमविरुद्धको आवाजका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । फिलिपिनी समाचार आउटलेट एबिएस–सिबिएनसँग बोल्दै दुतेर्तेका वकिल निकोलस कोफम्यानले यही कुरा दोहोर्‍याए । ‘पछिल्लो (२०२५ को) मध्यावधि चुनावमा दुतेर्तेले पाएको ‘अत्यधिक’ मतले पूर्वराष्ट्रपतिको विरासतलाई ‘मेटाउने’ केन्द्र सरकारको प्रयासलाई जनताले ‘पूर्ण रूपमा अस्वीकार’ गरेको देखाएको छ,’ कोफम्यानले भने ।

कोफम्यानले दुतेर्तेको शपथ ग्रहण फिलिपिनी कानुनले निर्देशित गरेबमोजिम हुने बताए । आफूहरूले उपलब्ध सबै विकल्पमा छलफल गरिरहेको र निकट भविष्यमा यस मुद्दामा निर्णय लिइने कोफम्यानले भने । मतदाताले यस चुनावलाई दुतेर्तेको ‘अन्तिम अवसर’ मान्दै वयोवृद्ध नेतालाई चुनेर सम्मान प्रदर्शन गरेको हुन सक्ने एटेनियो दे दाभाओ विश्वविद्यालयका पूर्वप्राध्यापक रामोन बेलेनोले बताए । दुतेर्तेको गिरफ्तारीले मतदातामा उनीप्रतिको सहानुभूति बढाउन भूमिका खेलेको बेलोनोको ठम्याइ छ ।

यसपटकको निर्वाचनमा दुतेर्ते मात्र होइन, उनका परिवारका अन्य सदस्यप्रतिको समर्थन पनि बढेको छ । मध्यावधि चुनावमा दुतेर्ते परिवारका सबै पाँच सदस्यले भाग लिएका थिए । दुतेर्तेका छोरा पाओलो कंग्रेसमा पुनः निर्वाचित भएका छन् भने पाओलोका दुई छोराले पनि चुनाव जिते । तीमध्ये ओमारले दाभाओ सहरको दोस्रो जिल्लाबाट कंग्रेस सदस्य पद जितेका छन् भने रिगो भनेर चिनने रोदि«गो द्वितीय पहिलो जिल्ला काउन्सिलरको रूपमा निर्वाचित भएका छन् । उपमेयर पद सेब्यास्टियन दुतेर्तेले हात पारेका छन् । सम्भवतः दुतेर्तेले शपथ लिन सफल भए भने सेब्यास्टियनले नै आफ्नो पिताको अनुपस्थितिमा मेयरको जिम्मेवारी सम्हाल्नेछन् । 

मेयर पदमा अत्यधिक मतले विजय हासिल गरेका दुतेर्तेका लागि मुख्य कानुनी बाधा भनेको अनुपस्थितिमा उनलाई शपथ लिन अनुमति दिइन्छ कि दिइन्न भन्ने हो । आइसिसी–मान्यता प्राप्त वकिल र मानव अधिकार गैरसरकारी संस्था ‘सेन्टर–ल’का अध्यक्ष जोएल बुटुयानका अनुसार सबै निर्वाचित अधिकारीले पदभार ग्रहण गरेको ३० दिनभित्र शपथ लिइसक्नुपर्नेछ । प्रत्यक्ष उपस्थित भएर शपथ ग्रहण गर्न नसक्दा दुतेर्तेले हेगमा फिलिपिन्सका राजदूत वा कन्सुलरको उपस्थितिमा शपथ लिनुपर्नेछ, जुन असम्भव रहेको बुटुयानले भने । ‘दुतेर्तेलाई पदभार ग्रहण गर्न मात्र बाहिर निस्किन अनुमति दिइन्छ जस्तो मलाई लाग्दैन । किनभने, आइसिसीका अभियुक्तले पाउने अधिकारमा यस्तो व्यवस्था उल्लेख गरिएको छैन,’ उनले भने ।

यदि दुतेर्तेलाई शपथ लिन अनुमति दिइएन भने मेयर पद निर्वाचनमा उपविजेता बनेका कार्लो नोग्रालेसको हातमा पर्न सक्छ । कार्लो दुतेर्तेको प्रतिद्वन्द्वी परिवारका सदस्य हुन् । दोभाओमा लामो समयदेखि प्रभावका लागि दुतेर्ते र नोग्रालेस परिवारबिच प्रतिद्वन्द्विता छ । नोग्रालेसले मेयर पद पाएमा दुतेर्तेका कानुनी चुनौती बढ्ने भएकाले दुतेर्ते परिवार जसरी पनि रोद्रिगोलाई शपथ ग्रहण गर्ने अभियानमा रहेको पूर्वप्राध्यापक बेलेनो बताउँछन् । 

सिएनएनका लागि क्याथलिन मग्रामोको रिपोर्ट