१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौैं
२o८२ जेठ २ शुक्रबार १o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दाइलाई भ्रष्टाचार मुद्दा चलेपछि मेयरले गरे अख्तियारमा कार्यरत कर्मचारीको तलब रोक्ने चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १o:o३:oo

सिन्धुपाल्चोकको बाह्रबिहे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीलाई तलब रोक्ने चेतावनी दिएर पत्राचार गरेका छन्। बाह्रबिसे नगरपालिकामा दरबन्दी भई अख्तियारमा काजमा कार्यरत अम्बिका दाहाल ओझालाई बिहीबार पत्र लेख्दै नगरपालिकामा हाजिर नभए तलब रोक्ने चेतावनी दिएका हुन्। 

बिहीबार मात्र अख्तियारले उनका दाइ (ठुलोबुबाका छोरा) सांसद मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसैको आवेगमा मेयर बस्नेतले यस्तो पत्र लेखेको स्रोत बताउँछ । बालकृष्ण पनि कांग्रेसकै स्थानीय नेता हुन् ।

संघीय मामिला मन्त्रालयका एक अधिकारीका अनुसार यसरी मेयरले अन्यत्र कार्यरत कर्मचारीलाई काज फिर्ताका लागि पत्र लेख्न मिल्दैन । संघीय मामिला मन्त्रालयले मात्र यसरी पत्राचार गर्न मिल्ने कानुनी व्यवस्था छ। 

मेयरले लेखेको पत्रमा भनिएको छ, ‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिनाभन्दा बढी अवधिका लागि काज खटाउन पाइनेछैन भन्ने व्यवस्था भएकाले सात दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब–भत्ता यस कर्यालयबाट भुक्तानी नहुने व्यहोरासमेत अनुरोध छ ।’ 

अख्तियारमा काजमा कार्यरत ओझा पाँचौँ तहकी कर्मचारी हुन् ।  यसरी मेयरले कानुनविपरीत पत्र लेख्नुका पछाडि सांसद बस्नेतविरुद्धको मुद्दा नै प्रमुख कारण भएको  स्रोत बताउँछ । यसरी आफूसँग नभएको अधिकार प्रयोग गर्दासमेत अख्तियारको दुरुपयोग ठहर्ने भएकाले यसमा पनि छानबिन हुन सक्ने स्रोत बताउँछ । यस विषयमा बुझ्न खोज्दा मेयर बस्नेत सम्पर्कमा आउन चाहेनन् ।