मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
डा. दीपेश घिमिरे
Invalid date format o८:१७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भ्रष्टतन्त्रले जन्माएको असन्तुष्टिको परिणाम

Read Time : > 4 मिनेट
डा. दीपेश घिमिरे
नयाँ पत्रिका
Invalid date format o८:१७:oo
  • जेन–जी पुस्ताको यो आक्रोश बढ्दै गयो भने कुनै दिन यहाँको राजनीतिले पनि बंगलादेशकै नियति झेल्नु नपर्ला भन्न सकिन्न

देशको संघीय राजधानीसहित देशभरका प्रमुख सहरबजारमा सोमबार भएको ‘जेन–जी’ पुस्ताको आन्दोलन एक्कासि उठेको होइन । यसका पछाडि तात्कालिक र दीर्घकालीन धेरै कारण लुकेका देखिन्छन् । लामो समयदेखि यसको तयारी भइरहेको थियो भन्ने देखिन्छ । यो तयारी कुनै व्यक्ति या समूहका तर्फबाट भइरहेको थियो भन्ने होइन । हाम्रो सामाजिक संरचना र प्रणालीका कारण गुम्सेर बसेको असन्तुष्टिले पृष्ठभूमिमा आन्दोलनको माहोल बनाउँदै आएको थियो । 

०६२/६३ मा त्यतिखेरको पुस्ताले गरेको आन्दोलनले सत्ता बदल्ने भूमिका त खेल्यो, तर संरचना बदल्न सकेन । त्यतिखेर शक्तिमा रहेका पात्र बदलिए, राजतन्त्र हटेर गणतन्त्र आयो । यस्तो परिवर्तन भए पनि संरचनात्मक परिवर्तन हुन सकेन । त्यसले पनि सोमबारको आन्दोलनको पृष्ठभूमि तयार गर्दै आएको थियो । 

पछिल्लो समयमा समाजमा भ्रष्टाचारको अवस्थाचाहिँ अत्यन्तै डरलाग्दो गरी बढेको छ । पंक्तिकारले विद्यावारिधिको अध्ययनका क्रममा भ्रष्टाचारसम्बन्धी एउटा अध्ययन गरेको थियो । सन् २००६ देखि २०२० सम्मका देशका प्रमुख पत्रपत्रिकामा आएका एक अर्बभन्दा माथिका भ्रष्टाचारसम्बन्धी समाचारको अध्ययन गर्दा करिब दुई सय ३१ अर्बभन्दा बढीको भ्रष्टाचार भएको देखिएको थियो । यसबारे पंक्तिकारले एक जर्नलमा लेख प्रकाशित गरिसकेको पनि छ । एकातिर देशमा यो स्तरमा भ्रष्टाचारको रफ्तारसँगै राज्यको स्रोत–साधनको दोहन गर्ने प्रवृत्ति बढिरहेको थियो भने अर्कातिर त्यसको नियन्त्रणका लागि राज्य संयन्त्रले कुनै काम गरिरहेको थिएन । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक व्यवस्थाका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यरत भए पनि यसले प्रभावकारी रूपमा ‘फंग्सन’ गर्न सक्ने अवस्था नै छैन । यसले ठुला र नीतिगत भ्रष्टाचारमा प्रवेश गर्न सक्दैन । सरकारको तजबिजीमा भागबन्डा लगाएर नियुक्त गरिने प्रमुख र अन्य आयुक्तको पनि भ्रष्टाचार नियन्त्रण गर्ने बलियो इच्छाशक्ति पनि देखिएन । फेरि राज्यमा भ्रष्टाचार हुनै नदिने अवस्था सिर्जना गर्नुपर्ने राज्यले आफ्नो दायित्व पूरा गर्न नसकिरहेको अवस्थाले आमनागरिक र विशेषगरी अहिलेको जेन–जी पुस्तामा तीव्र आक्रोश बढाइरहेको थियो । यससँगै राज्यका स्रोत–साधनको दोहनबाट सिर्जित भ्रष्टाचारबाट आर्जन गरिएको अकुत सम्पत्तिबाट एउटा एलिट वर्ग, तिनको परिवार र सन्तान दरसन्तानले विलासी जीवन बाँचिरहने र करदाता आमनागरिकले चाहिँ सामान्य तुइनसम्म नपाएर खोलामै हेलिनुपर्ने, साँझबिहान चुलो बाल्नकै लागि पनि सहज अवस्था नहुने, सामान्य रोजगारीसमेत नपाएर बिदेसिनुपर्ने, देशमा गरिबी, महँगी चुलिइरहनेलगायत अवस्थाले प्रस्ट रूपमा दुईवटा वर्ग जन्माइरहेको थियो । 

खासगरी, ०६२/६३ को आन्दोलनले देशमा सदियौँ पुरानो राजसंस्था ढालेपछि यस्ता यावत् पक्षमा सुधार आउनुपथ्र्यो । तर, देशमा झनै भ्रष्टाचार र बेथितिले जेन–जी  पुस्तामा असन्तुष्टि चुल्याउँदै लग्यो । राज्यसिर्जित असमानताले गर्दा देशमा हाम्रो भाग खोसिँदै छ, हाम्रो भविष्य अन्धकारमय बन्दै छ, हामीले तिरेको करमा सीमित वर्गले मोज गर्दै छ भनेर जेन–जी  पुस्ता भित्रभित्रै आक्रोशित बन्दै थियो । सुशासनको जगविना देशको समृद्धि सम्भव छैन भन्ने यो पुस्ताले राम्रोसित बुझेको छ । विगतमा विभिन्न नामका आन्दोलन भए पनि हाम्रो पुस्ताको जीवनमा किन समृद्धि आउन सकेन त भनेर यो पुस्ता घोत्लियो । ‘नियो क्लिप्टोक्रेट्स’का कारण मौलाएको भ्रष्टतन्त्रमा एकपटक चुनाव जितिसकेपछि पटक–पटकको आवधिक निर्वाचनमार्फत अनेक बहाना र नारा अघि सारेर निर्वाचित हुँदै राज्यका स्रोत र साधनको दोहन गरिरहने भ्रष्टहरूको बहिर्गमनविना हाम्रो पुस्ताको समृद्धि सम्भव छैन र यसका सबैभन्दा ठुला बाधक यिनै सत्तासीन नै हुन् भन्ने बुझेकाले पनि यो पुस्ता आन्दोलनमा होमियो । 

जेन–जी  पुस्ता मात्र होइन, हामीले स्कुल पढ्दादेखि सुन्दै आएका नाम र देख्दै आएका अनुहारबाटै अझै पनि हामी शासित हुन अभिशप्त छौँ । एउटै मान्छेलाई हामीले चार दशकभन्दा बढी समयदेखि झेल्दै आएका छौँ । एकपटक राजनीतिमा प्रवेश गरेपछि आर्यघाट नपुगुन्जेल सत्तावरिपरि नै रहिरहनुपर्ने पुस्ताका कारण पनि समाजका हरेक तह र तप्कामा असन्तुष्टि बढाएको छ । आगामी दिनमा आउँदै गरेका निर्वाचनमा पनि तिनै मान्छेलाई झेल्नुपर्ने अवस्था सिर्जना गर्न पार्टीभित्र र बाहिर अनेकौँ तिकडम गरिँदै छन् । यिनले हाम्रो नदीझैँ निरन्तर बग्नुपर्ने नेतृत्व र राजनीतिलाई दुर्गन्धित फोहोर पोखरीमा परिणत गरेका छन् । यसले पनि यो पुस्तालाई ‘इरिटेट’ गरिरहेको थियो । 

जेन–जी  डिजिटल टोक्नोलोजीसँगै हुर्केको इन्टरनेट पुस्ता हो । यो पुस्ताले नेपालमा टेक्नोलोजीमा आधारित धेरै ठुला रोजगारीका अवसर सिर्जना गरेको थियो । सामाजिक सञ्जालदेखि इन्टरनेटमा उपलब्ध विभिन्न प्लाटफर्म प्रयोग गरेर रोजगारी सिर्जना गर्दै आएको थियो । अहिले राज्यले त्यसैमाथि धाबा बोलेर उनीहरूको रोजीरोटी बन्द गराइदिएको छ । यसको प्रतिरोध पनि हो यो आन्दोलन । 

सोमबार जेन–जी  पुस्ताले आन्दोलन गर्दै छ भन्नेबारे राज्यलाई पहिल्यै जानकारी थियो । तर, हाम्रो राज्यले यो पुस्ताको आन्दोलनलाई फुच्चाफाच्चीको असन्तुष्टि भनेर ‘अन्डर इस्टमेट’ गर्ने काम गर्‍यो । यो पुस्तासँग भएको ल्याकत, विद्वता, ज्ञान, क्षमता र सीप सबै पक्षको अन्डर इस्टमेट गरियो । यसबाट सरकारको नियत प्रस्ट भएको छ । वर्तमान प्रधानमन्त्री केपी ओलीलगायत अधिकांश नेता राजनीतिमा प्रवेश गर्दा १८–२० वर्षको उमेर समूहका हुनुहुन्थ्यो । कतिपय नेताले ३० वर्षभन्दा कम उमेरमै पार्टीको नेतृत्व गर्नुभएको थियो । उहाँहरू राजनीतिक रूपमा अत्यन्त सचेत उमेर समूहका नेता हुनुहुन्छ हो । विगतमा राज्यले अन्डर इस्टमेट गर्दा जसरी उहाँहरूले आन्दोलनको आँधीबेहरी ल्याएर अनेकौँ सत्तालाई पटक–पटक ढाल्नुभएको थियो, आज उहाँहरूले आफू सत्तामा हुँदा त्यही गल्ती दोहोर्‍याइरहनुभएको छ । उहाँहरू जीवनको सबैभन्दा उर्वर उमेर समूहको पुस्तालाई फुच्चाफाच्ची भनेर यो पुस्ताको क्षमताको अवमूल्यन गर्दै हुनुहुन्छ । 

जेन–जी  पुस्ताको यो आन्दोलनमा यति ठुलो सहभागिता हुन्छ भन्ने उहाँहरूले सोच्नुसम्म भएन । त्यसैले, यो स्तरको युवा सहभागिता देखेर अताल्लिएको राज्यसत्ता अत्यन्तै क्रूर र आततायी रूपमा प्रस्तुत भयो । यतिखेर सामाजिक सञ्जालमा आएका समाचार, तस्बिर र भिडियो हेर्दा जोकोहीका आँखा रसाउँछन् । सोमबार राज्यले जेजसरी एउटा कलिलो पुस्ताको आन्दोलनमाथि देशभर क्रूरतापूर्वक दमन गरेको छ, त्यसले गाजामा भइरहेको मानव तथा बालबालिकाको विनाशलाई समेत बिर्साइदिएको छ । आफूले निर्वाचित गरेर पठाएको सरकारले यो स्तरको क्रूरता देखाउँछ भन्ने कसैले कल्पना पनि गर्न सक्दैन । राज्यले देशभरका सडकमा नग्न नृत्य देखाएको छ । त्यो एक जघन्य र क्रूर अपराध हो । त्यसका लागि उसले कुनै न कुनै रूपमा दण्डित हुनैपर्छ । 

यो पुस्ताले सोमबारको आन्दोलनका विषयमा केही दिनदेखि औपचारिक रूपमा जानकारी दिइरहेको थियो । उसले काठमाडौं जिल्ला प्रशासनसँग त लिखित अनुमति नै लिएको थियो । के यस अवधिमा हाम्रो राज्य संयन्त्रले उनीहरूसित वार्ता गर्न सक्दैनथ्यो ? उनीहरूको असन्तुष्टि के हो भन्ने विषयमा बुझ्न सक्दैनथ्यो ? राज्यसित वार्ता गर्न सक्ने कुनै मेकानिज्म थिएन ? घरमा बालबालिका असन्तुष्ट भएमा हामी उनीहरूलाई पिटेर ठेगान लगाउँछौँ कि उनीहरूका गुनासा सुनेर त्यसलाई सम्बोधन गरेर उनीहरूको चित्त बुझाउने प्रयास गर्छौं ? आखिर हामी नागरिकका लागि यो सिंगो देश नै घर होइन ? अनि राज्य संयन्त्र भनेको सम्पूर्ण देशवासीको साझा अभिभावक होइन ? के यो सरकारले यो पुस्तासित वार्ता गर्न सामान्य ‘इनिसिएसन’ पनि लिन सक्दैनथ्यो ? के राज्यका हर्ताकर्ताले यो पुस्तालाई यो स्तरमा अन्डर इस्टमेट गर्नु जरुरी थियो ? राज्यका तर्फबाट आन्दोलनको तयारी गरिररहेको जेन–जी  पुस्ताका गुनासा सुन्न कसले कहाँनेर के पहल गर्‍यो ? के राज्यले यसरी गैरजिम्मेवार बनेर आन्दोलनमा उत्रिएका निहत्था युवामाथि गोली चलाउन मिल्छ ? 

सोमबारको आन्दोलनमा देखिएको सहभागिता र त्यसमा सरकारको बर्बरतालाई हेर्दा अब यो आन्दोलन जेन–जी  पुस्ताको मात्र रहेन । यति धेरै छोराछोरी सहिद भएको र कैयौँ घाइते भएर अस्पतालका शड्ढयामा छट्पटाइरहेको अवस्थामा अब यो आमअभिभावकको पनि आन्दोलन बन्नुपर्छ । यी कलिला नानीबाबुलाई न्याय प्रदान गराउनु अब हामी आमनागरिकको पनि दायित्व या जिम्मेवारी हो । त्यसैले, यो आन्दोलनको भावी दिशा यसै हुन्छ भनेर आजै भन्न नसकिए पनि यो आन्दोलन अब त्यसै टालटुले सुधार या सम्बोधनको प्रयासबाट मात्र रोकिने सम्भावना देखिन्न । जुन पुस्तालाई भगौडा, पलायनवादी, आफ्नो व्यक्तिगत स्वार्थमा रमाउने भन्ने आक्षेप लगाइँदै आएको थियो, त्यो पुस्ता अब जबर्जस्त रूपमा राजनीतिमा उदाएको छ । उनीहरूमा देशको राजनीति, भ्रष्टाचार, बेरोजगारीलगायत यहाँको बेथितिप्रति गम्भीर चासो र चिन्ता रहेछ भन्ने प्रस्ट भएको छ । अब यो पुस्तालाई यहाँको राजनीतिमा रोक्न सकिन्न । उनीहरूमा रहेको राजनीतिक चेतनाको बिगुल सोमबारको आन्दोलनले फुकिसकेको छ । यस आन्दोलनसँगै अब लामो समयदेखि राज्य शक्तिको दोहनमा रमाउँदै आएको पुस्ताले थुपारेको अकुत सम्पत्तिको छानबिन गरी दोषीमाथि निर्मम कारबाही गर्ने एन्जेन्डा बलियो बनेर आउन सक्छ । हामीले छिमेकी बंगलादेशको सत्ता परिवर्तनलाई नजिकबाट नियालेका छौँ । अहिले नै यहाँको आन्दोलनले पनि त्यही बाटो पक्रेला भन्न नसकिए पनि राज्यसत्ताका हर्ताकर्ताको नियतमा सुधार आएन, उनीहरूका काम गर्ने तौरतरिकामा बदलाब आएन र उनीहरू स्वयं आफूलाई सच्याउन तयार भएनन् भने यहाँ पनि बंगलादेशको अवस्था नआउला भन्न सकिन्न । 

यति धेरैको हताहती, यति धेरै घाइते भइसकेको अवस्थामा ठाउँठाउँमा नेताका निवासमाथि जुन किसिमको आक्रोश पोख्ने काम भइरहेको छ, त्यो आक्रोश त्यत्तिकै मत्थर हुन्छ भनेर कसैले नसोचे पनि हुन्छ । जेन–जी  पुस्ताको यो आक्रोश बढ्दै गयो भने साँच्चै कुनै दिन यहाँको राजनीतिले पनि बंगलादेशकै नियति झेल्नु नपर्ला भन्न सकिन्न । त्यसैले, त्यो अवस्था आउनुअघि नै राज्यसत्ताका हर्ताकर्ताको मति सुध्रिनु अनिवार्य छ । 

(डा. घिमिरे त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र विभागका प्राध्यापक हुन्)