मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १९:o५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सिराहा जिल्ला अदालतसहित सरकारी कार्यालय र मन्त्रीको घरमा आगजनी, खाद्यको गोदामबाट चामल र चिनी लुटियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १९:o५:oo

सिराहाको लहानसहितका ठाउँहरुमा प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले जिल्ला सदरमुकाम सिराहा तथा लहानमा करिब एक दर्जन कार्यालयहरुमा आगजनी गरेका छन् ।

जिल्ला सदरमुकाम सिराहास्थित जिल्ला अदालतको अभिलेख शाखामा प्रदर्शनकारीहरुले मंगलबार अपरान्ह आगजनी गरेका छन् । उनीहरुले त्यसअघि नापी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गरेका थिए ।

कफ्र्यु घोषणा भए लगत्तै पूर्व पश्चिम सडक क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु मध्यान्ह करिब १२ बजेपछि लहान १० ग्रामीणस्थित नगर कार्यपालिका कार्यालयबाट शुरु गरेको आगजनी नजिकै रहेको डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयमा तोडफोड र आगजनी गरे । 

आगजनीमा लहान नगरपालिकाका घर नक्सा, राजश्वसहितका महत्वपूर्ण फाँट जलेर ध्वस्त भएका छन् । आगजनीपछि मंगलबार अपरान्ह करिब ५ बजेसम्म नगरपालिकाबाट धुँवाको मुस्लो निस्किरहेको थियो । प्रदर्शनकारीहरुले घरेलु कार्यालयको बा १ ब ८९९८ नम्बरको मोटरसाइकलसहित कार्यालय भवनसहित सम्पूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, पुराना अभिलेख राखिएको स्टोरमा आगजनी गर्दा पूर्ण रुपले ध्वस्त बनाएका छन् ।

त्यसपछि इलाका प्रशासन कार्यालय पुगेका प्रदर्शनकारीहरुले नागरिकताको अभिलेख शाखा, राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा आगजनी गर्नुका साथै सेवाग्राहीहरुका लागि बस्न बनाइएको प्रतीक्षा कक्षको फर्निचर, खानेपानीको ट्याङ्की, कार्यालयको स्कर्पियो तोडफोड गरेका छन् । कार्यालय स्रोतका अनुसार नागरिकता शाखाका केही कागजात जलेको भएपनि आगो भने निभाएर त्यति क्षति हुन पाएन।

त्यहाँबाट हिंडेका प्रदर्शनकारीहरुले लहान ८ स्थित आन्तरिक राजश्व कार्यालय आगजनी गर्नुका साथै लहान नगरको ४, ६, ७ र ८ नं वार्डको कार्यालय रहेको नगरपालिकाको स्वामित्वमा रहेको सरकारी भवनमा तोडफोड गरी सम्पूर्ण कागजत्र, फर्निचर, कम्प्युटर तोडफोड गरेका छन् । राजश्व कार्यालय नजिकै करिब एक सय मिटरको दूरमा रहेको नगर प्रमुखको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

लहान ८ स्थित घण्टाघर नजिकै रहेको नापी कार्यालय बिहान करिब ११ बजेतिर तोडफोड गरेर हिंडेका प्रदर्शनकारी पुनः फर्किएर दिउँसो २ बजेतिर कार्यालयका सबै कागजात, कम्पुटर, फर्निचरहरु बाहिर सडकमा निकालेर आगजनी गरेका छन् । त्यहाँबाट हिंडेका प्रदर्शनकारीहरुले लहान १ स्थित पूर्व पश्चिम सडकसँगै रहेको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए ।

गोदामको चामल र चिनी लुटियो 
सरकारी कार्यालयहरुको आगजनीपछि अपरान्ह करिब ४ बजेतिर पूर्व पश्चिम सडकसँगै जोडिएको लहान १ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा राखिएको चिनी र चामल लुटपाट भएको छ । ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि नजिकै रहेको खाद्यको गोदाममा रहेको सात हजार क्वीण्टल जिरा चामल, पाँच सय क्वीण्टल सोना चामल, तीन हजार पाँच सय क्वीण्टल चिनी लुटपाट भएको एक कर्मचारीले बताए । उनका अनुसार चामल, चिनी लुटपाटसँगै कार्यालयको चार पांग्रे सवारी साधन र कार्यालयमा आगजनी भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मंगलबार दिउँसो १ बजेदेखि लागू हुनेगरी कफ्र्यु आदेश जारी गरेको भएपनि घोषणा भएपछि तोडफोड र आगजनीका घटना भएका हुन् । आन्दोलनकारीहरुले गोलबजार नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीपछि फैलिएको आगोले सर्वसाधारणको घरमा पनि आगो लागेको पत्रकार समेत रहेका स्थानीय आशिष विश्वकर्माले बताए । उनका अनुसार प्रदर्शनकारीहरुले नेकपा एमालेका संघीय सांसद समेत रहेका चोहर्वा घर भएका लिलानाथ श्रेष्ठ, उनका भाई गोलबजारका मेयर श्यामकुमार श्रेष्ठको घरमा पनि तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले अपरान्ह गोलबजार ६ मा रहेको मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको घरमा आगजनी गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले मन्त्री सिंहको घरमा रहेका सम्पूर्ण सामान झिकेर आगजनी गरेका हुन् । उनीहरुले बिहानैदेखि पटक पटक उनको घर तोडफोड र आगजानी गर्न तम्सिएको भएपनि व्यवसायीहरुको अनुरोधमा रोकिएको भएपनि अपरान्ह घरका सबै सामानहरु झिकेर आगो लगाइदिएको स्थानीयले बताए ।