
२४ असारदेखि रसुवा र साउन दोस्रो सातादेखि तातोपानी नाका पनि अवरुद्ध भएपछि व्यापारीहरू मुस्ताङको लोमान्थाङ नाकामा केन्द्रित हुन थालेका छन्।चिनियाँ क्षेत्रमा क्यारिङ गर्दै आएको स्टार कस्टम क्लियरेन्स एजेन्टले दुई महिनादेखि अड्किएका कन्टेनर लोमान्थाङ लाने तयारी गरेको चिनियाँ कम्पनी आडो ट्रान्सपोर्टले जानकारी दिएको छ ।
केरुङ, न्यालम, दिङ्ग्रीलगायतमा अड्किएर बसेका कन्टेनर तिब्बत क्षेत्रको सागा भन्ने बाटोबाट लगभग एक हजार किलोमिटर दूरी पार गरेर मुस्ताङको लोमान्थाङ (कोरोला) पुर्याउने योजना बनाइएको हो। रसुवा नाकामा बेलिब्रिज तयार हुन अझै २० दिन लाग्ने र तातोपानी नाका कोदारी क्षेत्रमा एक महिनादेखि पहिरोले सडक अवरुद्ध भएकाले चाडपर्वलक्षित रेडिमेड सामान कोरोलाबाट ल्याउने तयारी गरिएको हो।
तातोपानी भन्सारका सूचना अधिकृत रमेशबहादुर शाहका अनुसार पहिरोले अरनिको सडक बन्द भएकाले चाडपर्वलक्षित सामान व्यापारीको चाहनामुताबिक जुन नाकाबाट पनि ल्याउन खुला रहेको छ। कोदारीको इको क्षेत्रको पहिरो पन्छाउन धेरै समस्या भएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ।
पहिरोले धमाधम गाउँ तान्न थालेकोले स्थानीयवासीले थप उत्खनन गरेर इको क्षेत्रमा सडक नबनाउन सडक डिभिजनलाई अनुरोध गरेका छन्। मितेरी पुलपारि खासा क्षेत्रमा रहेका फलफूल र मसलाजन्य सामग्री लिपिङबाट भरियाले बोकेर पहिरो कटाउने गरेका छन् ।
एक लाख २० हजार रुपैयामा चिनियाँ ट्रेलरमा रहेको फलफूल भरियाले बोकेर जोखिम मोल्दै पहिरो कटाउने गरेको स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले बताए। फलफूल बोकेका कन्टेनर सबै लिपिङआसपास आएको र भरियाले भन्सार पुर्याएको उनले बताए। धेरैजसो कन्टेनर अब लोमान्थाङ नाका भएर काठमाडौं आउने उनले सुनाए ।
कोदारी सडकको ठेक्का सम्झौता नहुँदा तातोपानी नाकालाई असर
अरनिको राजमार्गअन्तर्गत बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर कोदारी सडकखण्ड निर्माणको ठेक्का सम्झौता हुन नसक्दा तातोपानी नाकालाई ठुलो असर गरेको छ। बाह्रबिसेदेखि चीनको सिमाना मितेरी पुलसम्म सडकको अवस्था अत्यन्तै जीर्ण छ।
चीनसँगको अन्तर्राष्ट्रिय सडक भएकोले अरनिको राजमार्ग कोदारीखण्ड निर्माणका लागि सरकारले समयमै रकम विनियोजन गरेको थियो । तर, सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का खुला गरेको पाँच महिना बितिसक्दा पनि कुनै निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन ।
बाह्रबिसे-लिपिङ २६ किलोमिटर सडक पुनर्निर्माणका लागि सरकारले करिब एक अर्ब ७५ करोड ८० लाख विनियोजन गरेको छ । ०८१ चैत १५ गते ठेक्का खुलेको सूचना प्रकाशन गरेको सडक डिभिजनले ३ असारमा सूचना प्रकाशित गरेर पाँच निर्माण कम्पनी प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएको विवरण सार्वजनिक गरेको थियो ।
ढुकुचु कमलजित सोवर्ण जेभी, रमन त्रिवेणी जेभी, मृत सञ्जीवनी गल्वा जेभी, लामा कन्स्ट्रक्सन कम्पनी र महादेव खिम्ती नाना जेभीको नाम सार्वजनिक गरेर आर्थिक प्रस्तावका लागि असार १० र असार १७ सम्मको म्याद राखेर सूचना प्रकाशित गरेको थियो। आर्थिक प्रस्ताव खुलेको लामो समय बित्दा पनि ठेक्का सम्झौता भएन।
हालसम्म सारभूत रूपमा प्रभावग्राही भनेर कुनै कम्पनीसँग ठेक्का सम्झौता गरिएको छैन। सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले आर्थिक प्रस्ताव खोलेर मूल्यांकनको चरणमा रहेको र उक्त फाइल विभागमा पठाइएको बताए । यद्यपि, सार्वजनिक खरिद नियमावली र ऐनअनुसार तोकेको मापदण्डभित्र आर्थिक प्रस्तावमा न्यूनतम रकम कबोल गर्ने निर्माण कम्पनी नपरेकोले ठेक्का सम्झौता अड्किएको बताइएको छ।