
मकवानपुरको बकैया गाउँपालिका– ५, गरगरेस्थित लीलाराम जिम्बाको किराना पसलमा आज बिहान आगलागी हुँदा करिब दुई करोडबराबरको क्षति भएको छ। मकवानपुर प्रहरीका अनुसार शुक्रबार बिहान घरमा पूजा गर्दा बालेको दियोमा पेट्रोल राखेको ड्रम पल्टेर पर्दा आगलागी सुरु भएको हो ।
आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरगरेकाे प्रहरी टोली, हेटौँडा उपमहानगरपालिकाको दमकल, फापरबारी र हात्तीसुडे प्रहरी चौकीको थप टोली र बागमती गाउँपालिकाको दमकल खटिएका थिए। करिब दुई घण्टापछि आगो पूर्ण रूपमा निभाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार आगलागीमा परी पसल सञ्चालक ४५ वर्षीय लीलाराम जिम्बा गम्भीर घाइते भएका छन्।
उनको हात र खुट्टा दुवै भाग पोलिएको छ। प्रारम्भिक उपचारपछि चुरेहिल अस्पतालमा भर्ना गरिएको र शरीरको ४० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको प्रवक्ता अर्यालले बताए ।
आगलागीबाट जिम्बाको दुईतले पक्की घर, हातेमालो सहकारीबाट ल्याइएकाे करिब १५ लाख नगद, ३० वटा ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सामान नष्ट भएका छन्। साथै, घरभित्र रहेको बा.प्र. ०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल र किनमेलका लागि आएका नारायणबहादुर स्याङ्तानको नाममा दर्ता भएको ना.४९ प १३ नम्बरको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।
आगलागीमा करिब दुई करोड रुपैयाँबराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। साथै, पसलमा रहेको एउटा कुकुरको बच्चासमेत जलेर मरेको छ ।