मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
२o८२ भदौ २० शुक्रबार ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशी मुद्रा सटही गर्न बिमा कम्पनीलाई  प्राधिकरणको सिफारिस अनिवार्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार ११:५७:oo

नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई विदेशी मुद्रा सटही सुविधाका लागि प्राधिकरणको सिफारिस अनिवार्य चाहिने निर्देशन जारी गरेको छ । यसअघि प्राधिकरणले राष्ट्र बैंकको निर्देशनअन्तर्गत बिमा कम्पनीहरूलाई विदेशी मुद्रा सटहीका लागि सिफारिस दिने गथ्र्यो । प्राधिकरणले ‘बिमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै सिफारिसका लागि विभिन्न मापदण्ड तोकेको हो । त्यसअनुसार प्राधिकरणले सिफारिस दिएपछि कम्पनीले राष्ट्र बैंकमा विदेशी मुद्रा सटहीका लागि आवेदन दिन सक्नेछन् । 

प्राधिकरणका निर्देशकले शाम्भराज लामिछानेले बिमा कम्पनीहरूलाई विदेशी मुद्राको सटहीको सिफारिसका लागि पहिलोपटक निर्देशन जारी गरेको बताए । ‘यसअघि राष्ट्र बैंककै निर्देशनअनुसार हामीले बिमा कम्पनीहरूलाई विदेशी मुद्रा सटहीको सिफारिस गर्ने गरेका थियौँ । अहिले राष्ट्र बैंकको निर्देशनसँग नबाझिने गरी आफ्नै निर्देशन जारी गरेका छौँ,’ उनले भने, ‘सिफारिसका लागि आधारहरू पनि तय गरेका छौँ ।’

नेपालमा विदेशी लगानीका बिमा कम्पनी छन् । उनीहरूले लाभांश लैजाँदा विदेशी मुद्रामा लैजानुपर्छ । यसैगरी पुनर्बिमा, बिमांकी, विभिन्न प्रकृतिका परामर्श सेवा पनि विदेशबाट लिनुपर्छ । यस्तै, विदेशी संस्थामा आबद्ध हुँदा र वैदेशिक कार्यक्रममा सहभागी हुँदा पनि विदेशी मुद्रा चाहिन्छ । यी यस्ता प्रयोजनका लागि बिमा कम्पनीहरूले विदेशी मुद्रा सटही गर्नुपर्छ, त्यसका लागि नेपाल बिमा प्राधिकरणको सिफारिस अनिवार्य छ । 

‘बिमकले विदेशी बिमक वा पुनर्बिमक वा नेपालमा रहेका बिमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बिमकलाई सेवा प्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सीधै वा बिमा दलालको संलग्नतामा गरिएको पुनर्बिमासँग सम्बन्धित पुनर्बिमा शुल्क तथा बिमा दाबी रकम, लाभांश फिर्ता र परामर्श सेवा लिएबापतको रकम भुक्तानी प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्नेछ,’ निर्देेशनमा भनिएको छ । 

यस्तै, कम्पनीले विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेका निर्देशनसमेत पालना गर्नुपर्ने निर्देशन छ । पुनर्बिमा शुल्कको विदेशी मुद्रा सटही सिफारिस माग गर्दा ट्रिटी पुनर्बिमा वा रेट्रोसेसन र ऐच्छिक (फ्याकल्टेटिभ) पुनर्बिमा वा ऐच्छिक (फ्याकल्टेटिभ) रेट्रोसेसन पुनर्बिमाका लागि तोकिएबमोजिमका कागजात प्राधिकरणमा पेस गर्नुपर्ने बताइएको छ । विदेशी बिमक वा विदेशी ब्रोकरलाई बिमाको दाबीबापतको भुक्तानी गर्दा ट्रिटी वा (फ्याकल्टेटिभ) हिसाबकिताब मिलान गरी तोकिएबमोजिमका कागजात संलग्न गरी प्राधिकरणमा पेस गर्नुपर्ने बताइएको छ । 

बिमकले बिमांकीको पारिश्रमिक, विशेषज्ञ सेवा, क्रेडिट रेटिङ सेवा तथा परामर्श सेवा शुल्क, विदेशी सर्भेयरको पारिश्रमिक, सफ्टवेयरसम्बन्धी भुक्तानी र तेस्रो पक्ष सहजकर्ताका लागि आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । 

पुनर्बिमा वा रेट्रोसेसनबापत विदेशी मुद्रा सटही सिरफारिस गर्दा प्राधिकरणले जारी गरेको ‘बिमकको पुनर्बिमा निर्देशिका’बमोजिम सूचीकरण भएका विदेशी पुनर्बिमक तथा पुनर्बिमा दलाल र सोही निर्देशिकाबमोजिमको रेटिङ प्राप्त पुनर्बिमकका लागि मात्र सिफारिस गरिने बताइएको छ ।

छुटाउनुभयो की ?