
विनायोजना विमानस्थल बनाउने नाममा ठुलो परिमाणमा वन फँडानी हुँदा अहिले घाँसे मैदानमा परिणत भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १ र २ को जोगीदह क्षेत्रमा निर्माण गर्ने भनिएको सगरमाथा विमानस्थल निर्माणको नाममा फँडानी भएको एक सय पाँच हेक्टर वन क्षेत्र अहिले संरक्षणको अभावमा बेवारिसे जस्तै बनेको छ । फिजिबिलिटी अध्ययनको प्रतिवेदनलाई आधार मानेर विमान निर्माण गर्न वन क्षेत्र फँडानी भएपछि अहिले गाईबस्तु चरिचरण क्षेत्रमा परिणत भएको छ ।
डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहका अनुसार त्रियुगा नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको शिवालय धार्मिक वन, कंग सामुदायिक वन र मोतीहायी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको एक सय पाँच हेक्टर वन उजाड भएको छ । उनले भने, ‘विमानस्थलाई आवश्यक पर्ने एक सय ५६.११ हेक्टरमा हाललाई एक सय पाँच हेक्टर काटिएको छ । त्यहाँ विमानस्थाल बन्ने–नबन्ने कुनै टुंगो छैन । हामीलाई वन मन्त्रालयबाटै कानुनी प्रक्रिया पुर्याएर कटान गर्नु भनेकाले एक–दुई वर्षअघि नै रुख काटिएको छ ।’ डिभिजन वन कार्यालय गाईघाटका प्रमुख घनेन्द्र श्रेष्ठले उक्त फँडानी गरिएको क्षेत्र विमानस्थलको नाममा गइसकेको बताए । उनले भने, ‘अब संरक्षण गर्ने जिम्मा नागरिक उड्डयन प्राधिकरणको हो ।’
सगरमाथा विमास्थल निर्माणका लागि स्थानीयस्तरबाट सहयोग गर्न बनेको प्रारम्भिक कमिटीका कोषाध्यक्ष रुद्र अधिकारीले भने, ‘विमानस्थाल बन्छ कि बन्दैन, त्यो थाहा छैन । तर, हरियाली वन क्षेत्र अहिले घाँसे मैदान बनेको छ । गाईभैँसी चराउने चौर भएको छ ।’ २५ भदौ ०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणलाई सगरमाथा विमान स्थलको भौतिक पूर्वाधार निर्माण गर्न एक सय ५६.११ हेक्टर वन क्षेत्र खाली गर्न अनुमति दिएको डिभिजन वनका प्रमुख श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार वन ऐन २०७६, वन नियमावली २०५१ तथा राष्ट्रिय प्राथमिकताप्राप्त योजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्डसहितको कार्यविधि, २०७६ अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्झौता २४ माघ ०७८ मा भई वनका रुख काटिएको हो ।
तर, जिल्ला मालपोत कार्यालय उदयपुरका प्रमुख डुविन्द्रप्रसाद बरालले सगरमाथा विमानस्थलको नाममा जग्गा दर्ता नभएको बताए । उनले भने, ‘त्यो जग्गा अहिले वन क्षेत्रकै सरकारी जग्गा हो । वनले कानुनी प्रक्रिया पुर्याएर रुख काटेको होला । हाम्रो कार्यालयबाट टिप्पणी नउठीकन विमानस्थलको नाममा त्यो उजाड भएको जग्गा जाँदैन । त्यस जग्गाको संरक्षण गर्ने जिम्मा पनि वनकै हुन्छ ।’
सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले विमानस्थलको नाममा एक सय पाँच हेक्टर वन क्षेत्र उजाड बनेको गुनासो गरे । उनले भने, ‘तत्काल विमानस्थल बन्छ भनेर सामुदायिक वन समूहहरूले रुख काट्न सहमति दिएका थिए । अहिले विमानस्थल बन्छ भन्ने कुनै पनि टुंगो छैन् । योजानको डिपिआर नै नबनीकन वन क्षेत्र उजाड गरिएको छ । विमानस्थल निर्माणका लागि अन्य नदी उकासका जग्गा, खाली चौर प्रशस्त हुँदा–हुँदैन पनि वन फँडानी गर्नु दु:खद छ । चुनावी प्रपोकान्डको बनाउन विमानस्थलको हल्लाले वन क्षेत्र उजाडिएको छ ।’
त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले विमानस्थल नबने पनि अब त्यस जग्गालाई भविष्यमा उपयोगमा ल्याउने गरी नगरपालिकाले घेराबार गरेर संरक्षण गर्ने बताए । उनले भने, ‘विमानस्थल बन्ने नबन्ने कुनै पनि टुंगो छैन् । अहिलेसम्म विस्तृत परियोजना (डिपिआर) प्रतिवेदन नै नबनेको सुनेको छु । काठमाडौं जाँदै छु । बुझेर आउनेछु । तर, जग्गालाई अतिक्रमणको सिकार हुन दिनेछैन ।’
यता नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले डिपिआर तयार गर्ने विषयमा सरकारले हालै बजेटमा व्यवस्था गरेको सुने पनि तीन वर्षअघि वन फँडानी गर्नु गलत भएको बताए । (माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल ‘दिवस’ले विमानस्थलको नाममा वन फँडानी भइसकेपछि अब विमानस्थल छिटो बनाउनतिर संघीय सरकार लाग्नुपर्ने बताए । कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डाक्टर नारायण खड्काले जहाँ विमानस्थल बनाउने भनिएको छ । त्यहाँ अब बन्ने प्रक्रिया सुरु भएको बताए ।
डिपिआर नभई कसरी बन्छ : नागरिक उड्डयन प्राधिकरण
नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख हरिप्रसाद अधिकारीले सुरुमा फिजिबिलिटी स्टडी मात्र भएको जानकारी दिँदै डिपिआर नभएको बताए । उनले भने, ‘फिजिबिलिटी अध्ययनअनुसार सगरमाथा विमानस्थल निर्माण गर्न तीन–चार अर्ब लाग्ने कुरा छ । अब डिपिआर नबनीकन कसरी भन्नु ।’ प्राधिकरणका प्रवक्ता बबुराम पौडेलले उदयपुरमा विमानस्थल बन्ने, विमानस्थल बनाउँदा अपनाउनुपर्ने मापदण्ड पुग्ने भए पनि बजेट अभाव भएको बताए