
माओवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले २६ र २७ भदौमा दिक्तेल बजारमा शैक्षिक नीतिका विषयमा अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्ने भएको छ ।
अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूले संयुक्तरुपमा ‘नेपालको वर्तमान शैक्षिक नीति र अखिल क्रान्तिकारीको भूमिका विषयक अन्तरक्रियामूलक गोष्ठी–०८२’ आयोजना गर्ने भएको हो ।
शिक्षा क्षेत्रमा देखिएका चुनौती, अवसर र सुधारका उपायबारे बहस गर्ने र व्यवहारिक निष्कर्षमा पुग्ने उद्देश्यले संयुक्तरुपमा दुई दिने अन्तरक्रिया गर्न लागिएको अखिल क्रान्तिकारी खोटाङका जिल्ला अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिए ।
तीन जिल्लाका विद्यार्थी तथा शैक्षिक अभियान्ताको सहभागिता रहने गोष्ठीमा केन्द्रीय समितिले नेपालको वर्तमान शैक्षिक नीति र हाम्रो धारणा, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्षबाट विद्यमान शैक्षिक समस्या र समाधान तथा आयोजक जिल्ला कार्यसमितिहरुले शोधखोजमूलक शिक्षाका लागि अखिल क्रान्तिकारीको अभियान नामक कार्यपत्र प्रस्तुत हुने बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाको प्रमुख आतिथ्यतामा हुने गोष्ठीमा शोधकर्ता प्रकाश खातिवडा, विद्यार्थी नेता प्रतीक कार्की र शैक्षिक अभियन्ता सूर्यबहादुर राईले कार्यपत्रमाथि टिप्पणी गर्ने अखिल क्रान्तिकारीका प्रदेश सचिव आदेश थापाले जानकारी दिए । शैक्षिक आन्दोलनलाई सुदृढ बनाउन अखिल (क्रान्तिकारी)ले खेलेको ऐतिहासिक र वर्तमान भूमिकाका बारेसमेत खुला छलफल गरिने आयोजक अखिल क्रान्तिकारीले जनाएको छ ।