मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १८ बुधबार o९:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चालकलाई बन्दुक ताक्ने कांग्रेस नेतालाई कारबाही गर्न १४ यातायात संस्थाको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार o९:o५:oo

सुमोचालकमाथि भरुवा बन्दुक ताकेर चन्दा असुली गर्ने नेपाली कांग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११, खार्मीका नेता राईले सोमबार बिहान ना.१ज ४३७२ नम्बरको सुमो रोकेर चालक सविन तामाङलाई बन्दुक तेर्स्याएर रकम मागेको भन्दै उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायीले माग गरेका हुन् । 

नेता राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना.१ज ४३७२ नम्बरको सुमो रोकेर चालक तामाङलाई भरुवा बन्दुक देखाएर सहयोग रकम मागेको पाइएको छ । खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल यातायात मजदुर संघ खोटाङले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका हुन् । 

आगामी दिनमा जबर्जस्ती चन्दा असुली भइरहे जिल्लामा यातायात व्यवसाय चलाउन समस्या हुने भन्दै उनीहरूले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात मजदुरको जीवनरक्षाका लागि सम्बन्धित निकायसमक्ष मागसमेत गरेका छन् । 

चालक तामाङमाथि भएको घटनाबारे जानकारी पाएलगत्तै नेता राईलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन्। घटनापछि नेता राई घरमा ताला लगाएर श्रीमतीसहित सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । 

नेता राईले  बाँस तथा मुढाहरूले सडक अवरोध पारेर चालक तामाङमाथि आक्रमणको प्रयास गरेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलीप राईले बताए । चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीका राईलगायतले खोसेर घटना हुनबाट जोगाएको यात्रुहरूले बताएका छन् ।

नेता राईले आइतबार अर्का सुमोचालक जीवन कार्कीबाट भने रु. तीन हजार रकम असुलेको चालक तामाङले जानकारी दिएका छन् । चालक तामाङकै पछि–पछि गुडिरहेको ना.१ज ८१६९ नम्बरको सुमोचालक कार्कीबाट नेता राईकै घरअगाडि नै रोकेर रकम असुलेको बताइएको छ । 

छुटाउनुभयो की ?