
डाेनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिचको एन्कोरेज शिखर भेटवार्ताअघि, युक्रेनलाई भेटवार्ताबाट अमेरिकी र रुसी राष्ट्रपतिहरू कुनै एक ‘शान्ति सम्झौता’ लिएर बाहिरिएलान् भन्ने डरले सताएको थियो । ट्रम्पले भेटवार्ताअघि ‘भूमि आदानप्रदान’ हुन सक्ने बताएकाले अमेरिकाले रुससँग व्यापारिक सम्बन्ध पुनः सुचारु गर्ने लक्ष्यसहित युक्रेनी भूमि सधैँका लागि रुसलाई नै सुम्पने कुरामा सहमति जनाउने हो कि भन्ने डर थियो । तर, त्यसो भएन । युक्रेन ट्रम्पले सहमति जनाएको कुनै प्रकारको सम्झौता अस्वीकार गर्ने सम्भावित विनाशकारी स्थितिमा पुग्नबाट बचेको छ ।
तर, शिखर भेटवार्ताका क्रममा जे देखियो त्यो आफैँमा गम्भीर दुर्भाग्यपूर्ण थियो । अमेरिकी सेनाले पुटिनका लागि रातो कार्पेट ओछ्याएको देखियो । पुटिन अहिले एक युद्ध अपराधका अभियुक्त हुन् । उनले एक सार्वभौम छिमेकी देशमा आक्रमण सुरु गरे जुन दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा परिणत भएको छ । रुसी नेतालाई न्यानो स्वागत गरेको पनि देखियो ।
भेटवार्तापछि अलास्कामा भएको समापन पत्रकार सम्मेलनमा पुटिन खुसी देखिन्थे । नहुन् पनि किन ? भेटवार्तासँगै ट्रम्प रुसमाथि प्रतिबन्ध कडा पार्ने वाचाबाट पछि हटेका छन् । साथै, ट्रम्प रुसी राष्ट्रपतिले सुझाएअनुसार युद्धविराम गरेर वार्ता गर्नुको सट्टा सीधै व्यापक समाधानमा जानुपर्ने पक्षमा उभिएका छन् । जब कि, युक्रेन र युरोपको प्रस्ताव युद्धविरामपछि वार्ता गर्नुपर्ने भन्ने थियो ।
किभ र यसका युरोपेली सहयोगीहरूले एन्कोरेजमा टरेका विपत्तिलाई सफलतामा परिणत गर्ने प्रयास गर्नेछन्
तर, एक अर्थमा एन्कोरेज शिखर भेटवार्ता पुटिनका लागि गुमेको अवसर साबित भयो । उनले चाहेको सहमति हुन सकेन । परिणामको अस्पष्ट प्रकृति र कुनै सहमति नभएकाले युरोपेली र युक्रेनी नेतासामु शिखर सम्मेलनपछि ट्रम्पको सोचलाई प्रभावित बनाउने अवसर आएको छ । पुटिन यस सम्भावनाप्रति स्पष्ट रूपमा सचेत थिए । त्यसैले, उनले युरोपेली र युक्रेनी नेताहरूलाई शान्ति प्रक्रियामा ‘अवरोध सिर्जना’ नगर्न चेतावनी दिएका थिए ।
वास्तवमा अहिले रुस, युरोप र युरोपेली संरक्षणमा रहेको युक्रेन सबैसँग ट्रम्पसँग व्यवहार गर्ने समान अवसर छ । र, यसमा रणनीति हुनुपर्छ– ट्रम्पको चाप्लुसी गर्नु, उनको भित्री रुचि पूरा गरेर उनलाई प्रसन्न पार्नु र कहिल्यै उनको कुरा नकाट्नु । यस आधारमा विश्वासको जग बसेपछि, वार्ताकारहरूको भूमिका सुरु हुन्छ, जसले अमेरिकी राष्ट्रपतिलाई आफ्नो उद्देश्यमा धकेल्ने प्रयास गर्छन् । यसका लागि तिनले आफ्नो उद्देश्यलाई उपयोगी हुने विषयमा ट्रम्पले सार्वजनिक रूपमा अभिव्यक्त गरेका कुराको फेरो समाएर त्यसमा सूक्ष्म रूपमा आफ्नै विचार घुसाउनुपर्छ । अर्थात् ट्रम्पले व्यापक अर्थमा भनेका कुरालाई समाएर त्यसमा आफ्नो हितको विवरण भर्ने । अलास्कामा पुटिनले यही रणनीति पछ्याएका थिए ।
पत्रकार सम्मेलनमा, रुसी राष्ट्रपतिले ट्रम्पलाई मन पर्नेमध्ये एक विषयबारे चर्चा गर्न मुख्य विषयबाट विषयान्तर भएका थिए । पूर्वराष्ट्रपति बाइडेनको सट्टा सन् २०२२ मा ट्रम्प राष्ट्रपति रहेको भए युक्रेनमा युद्ध कहिल्यै नहुने ट्रम्पले भन्दै आएको कुरालाई पुटिनले समर्थन जनाए । ट्रम्पले पछि एक टेलिभिजन अन्तर्वार्तामा पुटिनले उनलाई सन् २०२० को राष्ट्रपति चुनाव ‘धाँधली’ भएको बताएको पनि भनेका थिए ।
ट्रम्पको चाप्लुसी गरेर उनलाई खुसी बनाएपछि मात्र पुटिनले आफ्नो अडान पेस गरेका थिए । भेटघाटपछि गरिएको पत्रकार सम्मेलनमा छेउमा ट्रम्प मुस्कुराइरहँदा पुटिनले युद्धविरामभन्दा द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्ने गरी व्यापक शान्ति–सम्झौता गर्नुपर्ने धारणा राखे । तर, पुटिनका लागि युक्रेनमाथि आक्रमण गर्नुको मूल कारण किभको रुसी प्रभुत्वबाट बाहिरिएर सार्वभौम लोकतन्त्र बन्ने आकांक्षा थियो । पुटिनले युरोपमा ‘निष्पक्ष सुरक्षा सन्तुलन’को आवश्यकता रहेको पनि उल्लेख गरे । यो बाल्टिक राज्य र पोल्यान्डबाट नेटो सेना हटाउन सन् २०२१ मा मस्कोले गरेका मागको पुनरावृत्तिजस्तो सुनिन्थ्यो ।
तर, युरोप र युक्रेनले पनि चाप्लुसीको यो खेल कसरी खेल्ने भनेर सिकिसकेका छन् । यही कुरा ट्रम्पसँगको फोनवार्तापछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मा गरेको पोस्टमा देखिन्छ । युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गर्दै पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलनमा भाग लिन इच्छुक रहेको जोड दिए । (जुन बैठकका लागि सम्भवतः पुटिन सहमत हुनेछैनन् ।) ‘एक्स’को पोस्टको अन्तिम अनुच्छेदमा जेलेन्स्कीले चलाखीपूर्वक महत्वपूर्ण विवरण घुसाएका छन् : ‘हामीले युक्रेनको सुरक्षाको ग्यारेन्टीमा सहभागिताको सम्बन्धमा अमेरिकी पक्षबाट सकारात्मक संकेतमाथि छलफल गर्यौँ ।’
युरोपेलीहरू ट्रम्पबाट अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टी गर्ने वाचा आओस् भन्ने चाहन्छन् । सम्भवतः युरोपेली नेतामध्ये ट्रम्पका घनिष्ठ रहेका फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टबले पनि सामाजिक सञ्जालमा उही लाइन दोहोर्याए । पहिले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएर स्टबले उही महतवपूर्ण विवरण लेखेका छन् : ‘युक्रेनका लागि बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी दिगो शान्तिका लागि मुख्य तत्व हुन् ।’
आगामी दिन तथा हप्ताहरूमा, युक्रेनी र युरोपेली नेताहरूले नजिकको विपत्तिलाई सफलतामा बदल्न मिहिनेत लगाउनेछन् । पुटिनलाई भेटेपछि ट्रम्पले महसुस गरेको न्यानो चमक केही समयमा खुइलिने तिनको आशा छ । रुसले युक्रेनमा आफ्नो आक्रमण बढाइरहेको छ भन्ने कुरा स्पष्ट हुँदै जाँदा, नागरिक हताहतीको संख्या बढ्दै जाँदा ट्रम्पको पुटिनप्रति मोहभंग हुन सक्छ । त्यस विन्दुमा, अमेरिकालाई रुसमाथि प्रतिबन्ध विस्तार गर्न र युक्रेनलाई सहयोग बढाउन मनाउन सम्भव हुन सक्छ । तर, यसबिच युद्ध भने चलिरहनेछ ।
(र्याचम्यान ‘फाइनान्सियल टाइम्स’का प्रमुख विदेश मामिला टिप्पणीकार हुन्) फाइनान्सियल टाइम्सबाट