
आइतबारसम्म देशभर ९४.१५ प्रतिशत रोपाइँ सकिएको छ । ढिलोमा साउन तेस्रो हप्तासम्म रोपाइँ सकेर धान गेडमेल गर्नतिर लाग्नुपर्ने किसान यो वर्ष भने रोपाइँमै व्यस्त छन् । समयमै वर्षा नहुँदा कोशी र मधेशमा रोपाइँको दरमा उल्लेख्य प्रगति हुन नसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
मधेशमा साउन दोस्रो सातासम्म आधा पनि रोपाइँ हुन सकेको थिएन । मधेशका किसानले साउन तेस्रो साताबाट बर्सात सुरु भएपछि मात्रै राम्ररी रोपाइँ गर्न पाएका हुन् ।मन्त्रालयका अनुसार मधेशमा आइतबारसम्म ८६.३५ प्रतिशत रोपाइँ सकिएको छ । सबैभन्दा धेरै धान उत्पादन हुने भएकाले मधेशमा सन्तोषजनक रोपाइँ नभए समग्र देशकै उत्पादनमा असर पर्ने मन्त्रालयको भनाइ छ । मधेशमा यसपालि तीन लाख ७० हजार एक सय ४५ हेक्टरमा रोपाइँ हुने अनुमान भएअनुसार हालसम्म तीन लाख १९ हजार ६ सय २६ हेक्टरमा रोपाइँ सकिएको छ ।
मधेशपछि धेरै उत्पादन हुने कोशीमा पनि ९४.९२ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कोशीको झापा, मोरङ र सुनसरी सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला हुन् । तीनवटै जिल्लामा शतप्रशित रोपाइँ हुन सकेको छैन । कोशीमा यसपालि दुई लाख ७६ हजार तीन सय ८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ । तर, हालसम्म दुई लाख ६० हजार नौ सय ६४ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गण्डकीमा ९४ हजार एक सय ८२ हेक्टरमा रोपाइँ हुने अनुमान भएअनुसार हालसम्म ८९ हजार तीन सय ११ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।पूर्वकृषि तथा पशुपक्षी सचिव रेवतीरमण पौडेलले कोशी र मधेशमा समयमै रोपाइँ नहुँदा उत्पादनमा असर पर्ने बताए ।
चार प्रदेशमा मैजारो
कृषि मन्त्रालयका अनुसार बागमतीमा ९७.२७ प्रतिशत, लुम्बिनीमा ९८.०८ प्रतिशत, कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा एक लाख १५ हजार ६ सय २१ हेक्टरमध्ये एक लाख १२ हजार हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, लुम्बिनीमा तीन लाख दुई हजार हेक्टरमध्ये दुई लाख ९७ हजार हेक्टर, कर्णालीमा ४१ हजार हेक्टरमध्ये ४० हजार हेक्टर र सुदूरपश्चिममा एक लाख ७६ हजार हेक्टरमध्ये एक लाख ७५ हजार हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष रोपाइँ सकिन लागेको थियो
गत वर्ष यही वेला रोपाइँ ९८.४४ प्रतिशत रोपाइँ भएको थियो । तर, धेरै धान उत्पादन हुने कोशी र मधेशमा भने नियमित रूपले रोपाइँ भएको थियो । जसकारण गत वर्ष १ भदौसम्म कोशी, बागमती र कर्णालीमा ९९ प्रतिशत रोपाइँ सकिएको थियो भने गण्डकी र लुम्बिनीमा ९८–९८ प्रतिशत तथा मधेशमा ९७ प्रतिशत रोपाइँ सकिएको थियो । सुदूरपश्चिममा भने शतप्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
रेवतीरमण पौडेल, पूर्वकृषि सचिव
यसपालि समग्र उत्पादनमा असर पर्ने त प्रस्ट छ, यद्यपि, किसानसँग अहिले राम्रो बिउ छ भने अझै एक हप्तासम्म रोपेर उत्पादनमा सुधार ल्याउन सकिन्छ ।