मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
२o८२ श्रावण १५ बिहीबार १३:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षक रामविक्रम थापा ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार– २०८२’बाट पुरस्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १३:२९:oo

‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार– २०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामविक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै शिक्षक थापालाई रुदश हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।

शिक्षण पेसामा प्रवेश गर्नुअघि तत्कालीन गाविससचिव पदमा कार्यरत शिक्षक थापा वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त भएका थिए । सहिद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ३ बाम्राङनिवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । 

सहिद मनोज जोशीको ३४औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापालाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन्। दिक्तेलको अस्पतालचोकस्थित सहिद जोशीको समाधिस्थलमा आयोजित कार्यक्रममा सहिद जोशीको सालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली सभासमेत आयोजना गरिएको थियो । 

हरेक वर्ष प्रदान गरिँदै आएको ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरगालिका– १ हाटडाँडानिवासी निजामती सेवाबाट निवृत्त (छैटौँ अधिकृत) सन्देश ताम्राकारलाई प्रदान गरिएको थियो। सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन १३ गते सहिद मनोजमार्ग सरसफाइ र साउन १४ गते जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष शम्भु तामाङ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य रेखा राई, सहिद परिवारको तर्फबाट समुन्द्रप्रसाद जोशी, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, पूर्वसांंसद कुलप्रसाद फुयाँललगायतले मन्तव्य राखेका छन्। कार्यक्रमका वक्ताहरूले सहिद मनोज जोशीको हत्याले जिल्ला तथा देशका लागि ठुलो क्षति भएको बताएका छन् । 

०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौताअनुसारको सेवासुविधा नदिइएको विरोधमा कर्मचारीहरूले निकालेको शान्तिपूर्ण जुलुसमा ऐक्यबद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलिप्याडमा प्रहरीको गोली लागेको हो ।

विरोध जुलुसले बजार परिक्रमा गरेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली  जोशीलाई लागेको घटनाका प्रत्यक्षदर्शीहरूले बताउँदै आएका छन्। परिवार तथा जिल्लावासीको लामो समयदेखिको मागका बाबजुद जोशीलाई नेपाल सरकारले ०७४ माघ २२ गते सहिद घोषणा गरेको हो । 

कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरू जागिरबाट हटाइएका थिए। सोही दिनको कर्मचारी आन्दोलन र गोलीकाण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले मनोज–झपेन्द्र स्मृति दिवसका रूपमा मनाउँदै आएका छन् ।