
ऊर्जामन्त्री दीपक खड्का र उनका सचिवालयका कर्मचारीहरूले हाल नेपाल विद्युत् प्राधिकरणबाट १० वटा गाडी प्रयोग गरिरहेका छन् । प्राधिकरणको सामान्य सेवा विभागको तथ्यांकअनुसार मन्त्रीको सचिवालयले तीन बिवाइडी इभी, टोयोटा कार, महिन्द्रा जिप, दुई टाटा इभी, तीन टोयोटा जिप लिएका छन् ।
मन्त्रीको स्वकीय सचिवालयतर्फ स्वकीय उपसचिव भूपालमान बस्नेत छन् । उनलाई मासिक ४८ हजार ७३७ पारिश्रमिकसहित गाडी सुविधा उपलब्ध छ । स्वकीय अधिकृत उज्ज्वल कोइरालालाई मासिक ४३ हजार ६८९, प्रशासन सहायक राजेन्द्र बस्नेतलाई ३४ हजार ७३०, कार्यालय सहयोगी देवी पाण्डे र करुणा लामालाई २४ हजार ७०२ रुपैयाँका दरले पारिश्रमिक दिइएको छ ।
साथै, आर्थिक सल्लाहकार अमित श्रेष्ठ, कानुनी सल्लाहकार सेवक पोखरेल, प्रेस संयोजक अच्युत रेग्मी र प्रेस सल्लाहकार सन्तोष मिश्र अवैतनिक रूपमा कार्यरत छन् । निजी सचिवालयतर्फ निजीसचिव सञ्वीव राय स्थायी पदमा कार्यरत छन् । उनलाई ४८ हजार ७३७ पारिश्रमिकसहित इभी गाडी सुविधा उपलब्ध छ । नायब सुब्बा पूर्ण गुरुङ स्थायी पदमा कार्यरत छन् र उनको पारिश्रमिक ३४ हजार ७३० छ ।